काठमाडौं । भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता राकेश बेदी आफ्नो पछिल्लो चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रवर्धनका लागि आइतबार काठमाडौं आइपुगेका छन्। हाल उक्त चलचित्र नेपालभर प्रदर्शनरत रहेको छ।
चलचित्रको प्रवर्धनका लागि वितरण कम्पनी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपले बेदीलाई नेपाल आमन्त्रण गरेका हुन्। काठमाडौंमा आयोजना गरिएका विभिन्न कार्यक्रममार्फत उनले दर्शकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
उनको नेपाल भ्रमणको व्यवस्थापन चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका छन्। सो टोली नेपालमा प्रदर्शन भइरहेको अर्को भारतीय चलचित्र ‘पेड्डी’ सँग पनि आबद्ध रहेको जनाइएको छ। दुई दिने नेपाल बसाइका क्रममा अभिनेता बेदीले राजधानीका विभिन्न चलचित्र हलहरूको भ्रमण गर्ने, दर्शकसँग साक्षात्कार गर्ने तथा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा-आराधना गर्ने कार्यक्रम रहेको छ।
नियोम फिल्म्सका नवीन शाक्यका अनुसार सोमबार मण्डला थिएटरमा आयोजना हुने नेपाल–भारत सांस्कृतिक आदानप्रदानसम्बन्धी पत्रकार सम्मेलनमा पनि बेदी सहभागी हुनेछन्। उक्त कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा चलचित्र सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजकहरूले यस भ्रमणले नेपाली र भारतीय चलचित्र उद्योगबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै चलचित्रमार्फत दुवै देशका दर्शकबीचको सम्बन्ध अझ नजिक बनाउने उद्देश्य रहेको बताएका छन्।
राकेश बेदी भारतीय मनोरञ्जन क्षेत्रका लोकप्रिय कलाकारमध्ये एक हुन्। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले ‘चश्मे बद्दूर’, ‘हीरो नम्बर १’, ‘दिल है कि मानता नहीं’ लगायतका दर्जनौं चलचित्र तथा चर्चित टेलिशृंखलाहरूमा अभिनय गरिसकेका छन्।
उनको पछिल्लो चलचित्र ‘धुरन्धर २’ ले नेपालमा उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त चलचित्रमा उनले निर्वाह गरेको ‘जमील जमाली’ पात्र दर्शकमाझ निकै चर्चित बनेको थियो। चलचित्रले बक्स अफिसमा समेत उत्कृष्ट व्यापार गर्दै यस वर्षका सफल बलिउड चलचित्रमध्ये आफ्नो स्थान बनाउन सफल भएको छ।