काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अन्त्य गर्ने तयारी गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार शनिबार र आइतबार दिइँदै आएको सार्वजनिक बिदा प्रभावकारी नभएको निष्कर्ष निकाल्दै सरकारले उक्त व्यवस्था खारेज गर्ने गृहकार्य अघि बढाएको हो।
स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा औपचारिक निर्णय गरेसँगै हाल कायम दुई दिने बिदा व्यवस्था अन्त्य हुनेछ। त्यसपछि पुनः शनिबार मात्रै सार्वजनिक बिदा कायम हुने सम्भावना रहेको बताइएको छ।
सरकारले इन्धन खपत घटाउने, सरकारी खर्च नियन्त्रण गर्ने तथा ऊर्जा बचत गर्ने उद्देश्यसहित केही समयअघि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयपछि सरकारी कार्यालयहरू शनिबार र आइतबार बन्द रहने व्यवस्था लागू गरिएको थियो।
तर, कार्यान्वयनको केही समयमै यस व्यवस्थाको प्रभावकारिता र व्यवहारिकतामाथि विभिन्न प्रश्न उठ्न थालेका थिए। सरकारी सेवा प्रवाहमा ढिलाइ भएको, प्रशासनिक कामकाज प्रभावित बनेको तथा बैंकिङ र निजी क्षेत्रको उत्पादकत्वमा समेत नकारात्मक असर परेको भन्दै आलोचना हुँदै आएको थियो।
सरकारी निकायहरूले सेवा प्रवाहमा देखिएका चुनौती, कार्यालय समय व्यवस्थापनमा आएको जटिलता तथा आर्थिक गतिविधिमा परेको मिश्रित प्रभावको समीक्षा गरेपछि पुरानै व्यवस्था उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको बताइएको छ।
यद्यपि, दुई दिने सार्वजनिक बिदा हटाउने विषयमा अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ। मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्रै हालको व्यवस्था औपचारिक रूपमा अन्त्य हुनेछ र देश पुनः एक दिने सार्वजनिक बिदा प्रणालीमा फर्किनेछ।