काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी व्यवसायिक वातावरणलाई तीव्र रूपमा परिवर्तन गरिरहेको सन्दर्भमा नेपाली युवा उद्यमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यसहित अस्ट्रेलियाको सिड्नीमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजना हुने ‘विश्व नेपाली युवा उद्यमी सम्मेलन’ मा २० भन्दा बढी देशबाट ७ सयभन्दा बढी नेपाली मूलका युवा उद्यमी, प्रविधिविज्ञ, लगानीकर्ता तथा व्यवसायिक नेतृत्वको सहभागिता रहने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (FINYE IEC) को आयोजनामा हुन लागेको यो कार्यक्रमको व्यवस्थापन फिनये अस्ट्रेलियाले गर्नेछ।
सम्मेलनमा एआई, स्टार्टअप, डिजिटल नवप्रवर्तन, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसाय विस्तारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। आयोजकका अनुसार सम्मेलनले विश्वभर छरिएका नेपाली उद्यमीहरूबीच सहकार्य विस्तार गर्नुका साथै नयाँ प्रविधिमा आधारित व्यवसाय विकासका अवसर पहिचान गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा नेपालका नीति निर्माता, बैंकिङ क्षेत्रका नेतृत्वकर्ता, प्रविधि उद्यमी तथा अनुसन्धानकर्तासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने राष्ट्रिय योजना आयोग, बैंकिङ क्षेत्र र निजी क्षेत्रका प्रतिनिधिहरूले पनि आफ्ना धारणा राख्नेछन्।
त्यसैगरी अस्ट्रेलियाली सरकारका उच्च अधिकारी, वित्तीय क्षेत्रका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय विज्ञसहित ५० भन्दा बढी वक्ताले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। सम्मेलनको प्रमुख आकर्षणमध्ये एआई स्टार्टअप प्रतियोगिता पनि रहेको छ। नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितामा ३५ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन नेपाली स्वामित्व भएको एआईमा आधारित कम्पनी हुनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितासम्बन्धी थप विवरण आयोजक संस्थाको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइनेछ।
आयोजकले यो सम्मेलनले एआईको युगमा नेपाली युवाहरूलाई विश्व बजारसँग जोड्दै लगानी र सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा व्यक्त गरेका छन्।