काठमाडौं । प्रदर्शनको दुई दिनमै विश्वव्यापी रूपमा १५० करोड रुपैयाँभन्दा बढी र भारतमा मात्र ११४ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल तेलुगु फिल्म ‘पेड्डी’ अहिले विवादमा तानिएको छ। फिल्ममा अभिनेत्री जाह्नवी कपूरले निर्वाह गरेको ‘अचियम्मा’ पात्रको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि निर्देशक बुच्ची बाबू सनाले सार्वजनिक रूपमा माफी मागेका छन्।
दर्शकहरूको आरोप छ कि ‘अचियम्मा’ पात्रलाई कथाको आवश्यकताभन्दा बढी दर्शक आकर्षित गर्ने उद्देश्यले अस्वभाविक र विवादास्पद ढंगले प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा ती दृश्यहरूमाथि चर्को आलोचना भएपछि फिल्म निर्माण टोली दबाबमा परेको हो।
विवाद बढ्दै गएपछि निर्देशक सनाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै फिल्मको उद्देश्य कसैलाई असहज बनाउनु वा अपमानित गर्नु नभएको स्पष्ट पारे। उनले एक फिल्मकर्मीका रूपमा आफ्नो उद्देश्य सधैं दर्शकलाई मनोरञ्जन, प्रेरणा र भावनात्मक सम्बन्ध प्रदान गर्नु रहेको बताए। उनले लेखेका छन्, “पेड्डीका केही दृश्यलाई लिएर दर्शकबाट आएका प्रतिक्रियालाई हामीले अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ। फिल्मको उद्देश्य कहिल्यै पनि कसैलाई असहज वा अपमानित बनाउने होइन।”
निर्देशकले प्राप्त प्रतिक्रियाको समीक्षा गरेपछि विवादित दृश्य तथा अंशहरू परिवर्तन गर्ने निर्णय गरिएको जानकारी समेत दिएका छन्। उनका अनुसार समयसँगै समाजको सोच, संवेदनशीलता र अपेक्षामा आउने परिवर्तनलाई सम्मान गर्दै सिर्जनात्मक कार्यमा आवश्यक परिमार्जन गर्नु आफ्नो जिम्मेवारी हो।
स्पोर्ट्स ड्रामा विधामा निर्माण गरिएको ‘पेड्डी’ले खेलमार्फत आफ्नो पहिचान स्थापित गर्न संघर्षरत एक पात्रको कथा प्रस्तुत गर्छ। निर्देशक बुच्ची बाबू सनाको लेखन तथा निर्देशन रहेको फिल्ममा राम चरण, जाह्नवी कपूर, शिव राजकुमार, दिव्येन्दु र जगपति बाबुको मुख्य भूमिका रहेको छ।
विवादका बीच पनि फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। दर्शक तथा समीक्षकहरूले फिल्मको कथा, प्रस्तुतिकरण र कलाकारहरूको अभिनयको प्रशंसा गरिरहेका छन्। यद्यपि, महिला पात्रको चित्रणलाई लिएर उठेको बहसले फिल्म उद्योगमा महिला पात्रहरूको प्रस्तुति र संवेदनशीलताको विषयलाई पुनः चर्चामा ल्याएको छ।