काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आठ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनाहरू बर्दिया, धादिङ, पर्वत, काठमाडौँ, बाँके, झापा र भक्तपुरमा भएका हुन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-३ नौलापुरमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको विद्युत् पोलमा ठोक्किँदा ३३ वर्षीय रामु योगीको मृत्यु भएको छ । उपचारका क्रममा नेपालगन्जस्थित अस्पतालमा उनको ज्यान गएको हो । धादिङको नीलकण्ठ नगरपालिका-१० तारेश्वरीमा करिब १५० मिटर तल सडकबाट खसेको गाडी दुर्घटनामा ५३ वर्षीय नुछेबहादुर कोजूको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका-२ अर्मादीस्थित पोखरा-बागलुङ सडकखण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय हीरा गर्बुजा र ३५ वर्षीय सुर्जन भण्डारी रहेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका-१ फुटुङमा ट्याक्सीले ठक्कर दिँदा गम्भीर घाइते भएका चार वर्षीय बालक स्पर्श बानियाँ केसीको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-१ मा एलपी ग्यास बोकेको ट्यांकर अनियन्त्रित भई पल्टिँदा चालक ४४ वर्षीय देवेन्द्र पालको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-७ मा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जना मोटरसाइकल सवार-अजय माझी (३२) र अजय राजवंशी (२१)को मृत्यु भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय हेमबहादुर नेपाली र ३२ वर्षीय विजय राई रहेका छन् । त्यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका-७ मा ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा ३६ वर्षीया हरिकला वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबै घटनाको अनुसन्धान भइरहेको छ । लगातार भएका दुर्घटनाले देशमा सडक सुरक्षा र ट्राफिक अनुशासनबारे गम्भीर प्रश्न उठाएको छ ।