काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताबाट जम्मा भएको रकम एक खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ। कोषमा संकलित रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ जलविद्युत्, प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने नीति अघि सारिएको छ।
कोषका अनुसार यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँभन्दा बढी योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्न आवश्यक रहेको निष्कर्ष कोषले निकालेको छ।यसैअनुसार सरकारी स्वामित्वका कम्पनीहरूसँग सहकार्य गरेर जलविद्युत् तथा नवीकरणीय ऊर्जा परियोजनामा कर्जा वा सहवित्तीयकरणमार्फत लगानी गर्ने तयारी गरिएको छ। हालसम्म प्राप्त चारवटा प्रस्तावमध्ये दुईवटा परियोजनामाथि विस्तृत छलफल भइरहेको जनाइएको छ।
कोषका निर्देशक रोहित रेग्मीका अनुसार योगदानकर्ताको रकम बैंक तथा वित्तीय संस्थामा मात्रै राखेर आर्थिक विकासमा अपेक्षित योगदान दिन नसकिने भएकाले लगानी विविधीकरणको नीति अवलम्बन गरिएको हो। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न कोषमा रहेको रकमलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति लिएकाले सामाजिक सुरक्षा कोषले पनि त्यसलाई आधार मानेर काम अघि बढाउने जनाएको छ।
कोषले जलविद्युत् र नवीकरणीय ऊर्जा मात्र होइन, खानी तथा सिमेन्ट उद्योग क्षेत्रमा समेत लगानी गर्ने योजना बनाएको छ। स्वदेशमै क्लिङ्कर उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने परियोजनालाई समेत प्राथमिकतामा राखिएको बताइएको छ। हालसम्म कोषमा २३ हजार ४७६ रोजगारदाता तथा २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भएका छन्। कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म २० अर्ब ४५ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षातर्फ मात्रै तीन अर्ब २३ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको छ। त्यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा अवकाश योजनाअन्तर्गत पनि अर्बौं रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको कोषले जनाएको छ।
कोषले पर्यटन, निर्माण, सूचना प्रविधि, सेवा तथा कृषि क्षेत्रमा समेत संस्थागत कर्जा वा सहवित्तीयकरणमार्फत लगानी गर्न सक्ने व्यवस्था गरेको छ। यद्यपि २० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजना, पर्याप्त स्वपूँजी नभएका परियोजना तथा कोषको प्राथमिकताबाहिरका आयोजनामा लगानी नगर्ने स्पष्ट नीति लिइएको छ।
योगदानकर्ताको रकमलाई सुरक्षित र उत्पादनशील क्षेत्रमा परिचालन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने लक्ष्यसहित सामाजिक सुरक्षा कोषले लगानीका नयाँ क्षेत्र खोज्ने प्रक्रिया तीव्र बनाएको जनाएको छ।