काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।
पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। पछिल्लो २४ घण्टामा कालीकोटको विजयपुरमा सबैभन्दा धेरै ७४ दशमलव ४ र नाग्ममा ७२ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै बाजुरामा २९ दशमलव ६, जुम्लामा ४७ दशमलव ७, डडेल्धुरामा ४७ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ। अहिले काठमाडौं उपत्यकासँगै मुगु, हुम्ला, बैतडी, डोटी, डोल्पा, म्याग्दी, पाल्पा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।
तराई मधेश बाहेकका प्रदेशमा केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। तराईमा भने बिहान केहीबेर हुस्सु लागेर दिउँसो हट्ने छ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जानकारी दिएको छ।
आजदेखि प्रि–मनसुन शुरू भएको छ भने पश्चिमी प्रणालीको प्रभाव पनि कायम रहनाले वर्षा र हिमपातको सम्भावना छ।