काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि सुरुङमार्गको ब्रेकथ्रु गर्नूभएको हो । यसअघि प्रधानमन्त्री ओली भौतिक रूपमै उपस्थित हुने योजना भए पनि अन्तिम समयमा स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा ब्रेक थ्रु गरिएको थियो । ब्रेक थ्रुका लागि सुरुङको उत्तर र दक्षिण भाग जोड्न १.८ मिटरमात्रै बाँकी थियो ।
ब्रेक थ्रु कार्यक्रममा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायतको उपस्थिति थियो । सिद्धबाबा सुरुङ्मार्ग आयोजना कार्यालयका अनुसार ब्रेक थ्रु हुँदा भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको छ ।
आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने छ। लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुनेछ ।
उत्तरतर्फबाट ४८० मिटर र दक्षिणतर्फबाट ६०७ मिटर गरी १०८७ मिटर सुरुङ खनिसकेको थियो । सुरुङमार्ग छिचोलिए पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्नेछ । आयोजनाका अनुसार समयभित्र निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन एक वर्ष अझै लाग्ने छ । सुरुङमार्गमा सवारी साधन गुडिरहेको बेला आपत्कालीन अवस्थामा यात्रुलाई उद्धार गर्न १५१ मिटरको पहिलो बाइपास, १६१ मिटरको दोस्रो बाइपास र १३० मिटर दूरीको तेस्रो बाइपास पनि निर्माण गरिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
यसको पहिलो बाइपास सुरुङमार्ग २०८१ असोज ४ गते छिचोलिएको थियो । दोस्रो २०८१ पुस ७ गते र तेश्रो बाइपास २०८१ भदौ २६ गते छिचोलिएको थियो । सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ । लाइनिङ, भेन्टिलेसनको काम अझै बाँकी छ । भित्तामा कंक्रिटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी रहेको छ ।
आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ । ठेक्का सर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । यो सुरुङमार्ग २०८० पुसदेखि खन्ने काम सुरु गरिएको थियो ।
सम्झौताअनुसार यो सुरुङमार्ग अब २५ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग निर्माण सकिएपछिको ५ वर्षसम्म निर्माण कम्पनीलाई नै सञ्चालन तथा मर्मत सम्भार गर्ने गरी अधिकार दिइएको छ ।