चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात वटा विकास बैंक र आठ वटा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही स्वरूप सचेत गराएको हो ।
पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा ती संस्थाहरूबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशङ्का भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणबाट तयार गरी यस बैंकमा प्रतिवेदन पेस भएको छ ।
कारबाहीमा पर्ने विकास बैंकका सीईओहरुमा लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोसी डेभलपमेण्ट बैंकका छन् ।
यसै गरी कारबाही स्वरूप सचेत पाउने फाइनान्स कम्पनीका सीईओहरुमा समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसै गरी यस आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियामयकी व्यवस्था उल्लङ्घन गरेको आरोपमा राष्ट्र बैंकले ती संस्थालाई कारबाही गरेको हो ।