काठमाडौ । सांसद एवं प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य एकनाथ ढकालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको ४ दिने औपचारिक भ्रमणले बुद्धको जन्मभूमि नेपालबाट विश्वमा जारी युद्ध रोक्न शान्ति र मेलमिलापको सन्देश दिने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
महामहिम महासचिव गुटेरेसको नेपाल भ्रमणका बेला आइतबार विज्ञप्ति जारी गर्दै ढकालले भने,‘महासचिव गुटेरेसले शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि नेपालबाट इजरेल–प्यालेस्टाइन तथा रसिया-युक्रेन लगाएत विश्वमा जारी युद्ध रोक्न शान्ति, मेलमिलाप र भाइचाराको संदेश दिने यो महत्वपूर्ण अवसर पनि हो।’
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, नेपालको शान्ति प्रक्रिया, दिगो विकासका लक्ष्यहरू, विश्व शान्तिमा नेपाली सेनाको भूमिकालगायत विषयमा छलफल हुनु सकारात्मक भएको बताउँदै ढकालले यी महत्वपूर्ण एजेन्डाहरुमा परिणाममुखी छलफल होस् भन्ने कामना समेत गरेका छन् ।
उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघका महासचिवको प्रमुख कामहरु मध्य शान्ति स्थापना मिसनहरूको निरीक्षण गर्ने र द्वन्द्वको मध्यस्थता गर्ने प्रमुख हुन् । गणतन्त्रको स्थापनासँगै माओवादी सशस्त्र द्वन्दको अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिको मुलधारमा आइसकेपनि द्वन्द्व पीडितहरुले भने न्याय पाई सकेका छैनन । जबसम्म नेपाली समजमा शान्ति र न्याय दुवैको प्रत्याभूति हुँदैन तबसम्म शान्ति प्रक्रियाले सार्थकता पाउन सक्दैन।’
ढकालले महासचिव गुटेरेसको नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र प्रमुख राजनैतिक दलहरुले संक्रमणकालीन न्यायबारे अन्तर्राष्ट्रिय मापदण्ड अनुसारनै समाधान गर्ने सुनिश्चितता जाहेर गर्नु पर्छ र पीडितलाई न्याय दिने कुरामा इमान्दारिता देखाउनु पर्ने बताउँदै, यदि यसो नगरी संक्रमणकालीन न्यायबारे राजनैतिक लेनदेन मार्फत समाधान खोजियो भने त्यो प्रतिउत्पादक हुने बताएका छन् ।
ढकालले सत्र वर्षदेखि अवरुद्ध संक्रमणकालीन न्यायको वर्तमान अवस्था र आफ्नो चासोका बारेमा सबै पक्षका पीडितहरूले महासचिव गुटेरेसको भ्रमणअघि लेखी पठाएका पत्रहरुको बेवास्ता नगर्न आग्रह गरेका छन् । उनले पीडितको सहमति बेगर हुने एक पक्षीय सहमतिले द्वन्द्वको घाउ मेट्न नसक्ने बताए।
पीडितका परिवारहरूले हालको गठबन्धन सरकारले अपराधीहरूलाई आममाफी दिने विधेयक अघि बढाउने प्रयासको विरोध गरिरहेको तथ्यलाई बेवास्ता गरेर सरकारले महासचिव गुटेरेसलाई नेपालमा आमन्त्रण गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई राष्ट्रसंघबाट अनुमोदन गराउन मात्र केन्द्रित भयो भने आलोचना योग्य काम हुने ढकालले बताएका छन् ।
महासचिव गुटेरेससँग सरकारले प्रमुख प्रतिपक्षको समेत समझदारीमा सर्वोच्चको आदेश र देशले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार ऐन संशोधन गरि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग मार्फत संक्रमणकालीन न्यायबारे काम सम्पन्न गर्ने इमान्दार प्रतिबद्धताका र रोडम्याप सार्बजनिक गर्न सक्नुपर्ने ढकालले बताए ।
भ्रमणका बेला जलवायु परिवर्तनले नेपालमा परेको असर र विश्व समुदायले नेपाललाई दिनुपर्ने क्षतिपूर्ति, दिगो विकासका लक्ष्यहरू र विश्व शान्तिमा नेपाली सेनाको भूमिकालाई सयुक्त राष्ट्र संघले उच्च प्राथमिकतामा राखोस् भनि प्रष्ट सन्देश महासचिव गुटेरेसलाई नेपाल सरकार र राजनैतिक दलले दिन सक्नुपर्ने सांसद ढकालले बताए ।
ढकालले भने, ‘महासचिव गुटेरेसले काठमाडौंमा के संदेश दिन्छन, अझ केही दिन पर्खनु पर्छ, तर उहाँको सन्तुलित र प्रोत्साहित सन्देशको अपेक्षा नेपालले गरेको छ । किनकि नेपालले सयुक्त राष्ट्र संघलाई गरेको योगदान पनि अन्य धेरै सदस्य राष्ट्रको भन्दा बढी नै छ। द्वन्दरत पक्षहरुबाट भएका युद्ध अपराधलाई बिर्सिँदा युद्धको पुनरावृत्ति हुने खतरा हुन्छ भन्ने तथ्य समेतलाई महासचिवले मनन् गरी नेपालमा आफ्नो संदेश दिनेछन् भन्ने कामना गर्दछु।’
सविधानसभाको चुनावलगायत शान्ति प्रक्रियाको कामलाई प्राथमिकता दिदै १५ वर्षअघि तत्कालिन संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन आफैंले नेपाल भ्रमण गर्नुभएको स्मरण गर्दै सांसद ढकालले १५ बर्ष पछि संयुक्त राष्ट्रसंघका प्रमुखको नेपाल भ्रमण हुनु आफैमा सुखद, महत्वपूर्ण र अवसर योग्य भएको बताए ।