काठमाडौं । भुटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) को अमेरिका च्याप्टरले र्यालीको आयोजना गरेको छ । डिसेम्बर १७ नाम दिइएको र्याली पेन्सेल्भेनिया राज्यको क्यापिटल कम्प्लेक्समा आयोजना भएको हो ।
भुटानी राजनीतिक बन्दीलाई आममाफीको माग गर्दै पेन्सेल्भेनिया राज्यमा पहिलो पटक र्याली आयोजना गरिएको हो । र्यालीमा स्थानीय भुटानी समुदायका सदस्यको पनि सहभागिता थियो ।
र्यालीमा सहभागी भएका ४० जनाभन्दा धेरै अभियन्ताले भुटानका कारागारमा दशकौँदेखि कैदीबन्दी बनाइएका राजनीतिक बन्दीलाई विना सर्त रिहाइको माग गरेका छन् ।
अमेरिका च्याप्टरका संयोजक सीएम निरौला र युवा संयोजक आशिका धौरालीको संयोजकत्वमा भएको र्यालीमा स्थानीय भुटानी नेताहरू नारद अधिकारी, टीका ढुंगाना, डाक्टर नारद पोखरेल, समिक्षा सुवेदी र मान घलेले र्यालीलाई सम्बोधन गर्दै विना सर्त रिहाइको माग गरे ।
भुटानमा जन्मकैदको सजाय भोगिरहेका चतुरमान तामाङका भाइ पासाङ तामाङले भुटानका राजासमक्ष व्यक्तिगत निवेदन दिएका थिए। अभियानले स्वर्गीय डाक्टर भम्पा राई र स्वर्गीय किशोर राई, दुई प्रमुख भुटानी कार्यकर्ताको सम्मानमा स्मृति सभा पनि आयोजना गरेको थियो ।
प्रख्यात भुटानी सामुदायिक नेता तथा पूर्व एम्नेस्टी इन्टरनेशनल प्रिजनर अफ साइन्स र अहिले एसिया प्यासिफिक अमेरिकन अफेयर्स–पेन्सिलभेनियाका गभर्नरको सल्लाहकार आयोगका विश्वनाथ क्षेत्री, भुटानी बुद्धिजीवी माधव शर्मा, भुटा–नेसका पूर्व सांसद केबी चुवान, युवा पुस्ताका भुटानी नेता सोनिया प्रधान, समिक्षा सुवेदी र दीक्षा चुवान लगायत पनि र्यालीमा सहभागी थिए।
ग्लोबल अभियानले शान्तिपूर्ण विचारको मौलिक अधिकारको सम्मान गर्दै सबै राजनीतिक बन्दीलाई तुरुन्त रिहा गर्न भुटानको शाही सरकार र राजालाई दबाब दिनका लागि विभिन्न काम गरिररहेको छ ।