काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ ।
निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमै मात्र आचारसंहिता उल्लंघनका घटना भएको आज (शनिबार) सञ्चारकर्मीसँग कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् । तर मौन अवधिमा बढी आचारसंहिता उल्लंघन हुन सक्ने उनले बताए ।
उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्न सक्ने बताए । आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको उनले बताए । उनले निर्वाचन आचारसंहितालाई स्थिर समयमा हुन सक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए ।
निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा-गौंडामा बिना बर्दीमा खटिएको उनले बताए । निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न समेत उनले चेतावनी दिए । उनले आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहितामा कडाइ गरिरहेको बताए । उनले आयोगले आचारसंहिता कडाईको बारेमा विभिन्न राजनीतिक दल र नेताहरुसँगको छलफलपछि नै निर्णय लिएको बताए । गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहिता लागू गरेको स्मरण समेत उनले गराए ।
निर्वाचन आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरेपनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरु छरपस्ट नरहेको बताए । उनले आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमासमेत मितव्ययिता भएको बताए । उनले आयोगको कडाईका कारण नै दल र उम्मेदवारहरुले पनि आचारसंहिताको पूर्ण पालना गरेको खण्डमा मितव्ययी निर्वाचन हुनसक्ने रहेछ भन्ने महशुस गरेको बताए ।
उनले आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष भएकाले यसलाई कुरुप बनाउने अधिकार कसैलाई नरहेको भन्दै स्वतन्त्र अभिव्यक्ति भनिरहँदा अर्को व्यक्तिको अधिकार हनन गर्ने काम गर्न नहुने बताए ।