काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले पछिल्ला दिनमा दर्शकको राम्रो साथ पाउन थालेको छ। प्रदर्शनको सुरुवाती तीन दिन लगातार परेको वर्षाले व्यापार प्रभावित भए पनि मंगलबारदेखि फिल्मको अकुपेन्सीमा उल्लेख्य सुधार आएको हो।
मंगलबार ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटमा प्रदर्शन हुँदा फिल्मले देशभर ७० प्रतिशतभन्दा बढी अकुपेन्सी हासिल गरेको थियो। बुधबार पनि फिल्मको अकुपेन्सी सुखद देखिएको वितरक पक्षले जनाएको छ। काठमाडौंका क्यूएफएक्स भक्तपुर, कीर्तिपुर सिनेप्लेक्स, एफक्यूब, बिग मुभिज, क्यूएफएक्स सिभिल, सिटी स्क्वायर र वान् सिनेमाजलगायतका हलमा बुधबार फिल्मको अकुपेन्सी करिब ८० प्रतिशतको हाराहारीमा रहेको बताइएको छ।
काठमाडौं बाहिर पोखरा, बुटवल, नेपालगन्ज, दमक, इटहरीलगायतका सहरमा पनि फिल्मले राम्रो दर्शक पाइरहेको जनाइएको छ। दर्शकको चाप बढेसँगै मल्टीप्लेक्सहरूले फिल्मको शो संख्या पनि थपेका छन्। देशभर ६० शोबाट प्रदर्शन सुरु गरेको फिल्मले बुधबार एक सयभन्दा बढी शो पाएको वितरक आशिष तामाङले जानकारी दिएका छन्।
उनका अनुसार बुधबार फिल्मको अकुपेन्सी प्रदर्शनयताकै उच्च देखिएकाले बिहीबारदेखि देशभर फिल्मले डेढ सयभन्दा बढी शो पाउने सम्भावना छ। हरि लम्सालको निर्देशनमा बनेको फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ। विशेषगरी फिल्ममा प्रस्तुत गरिएको बाबु र सन्तानबीचको सम्बन्ध, त्याग र संघर्षको कथाले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ।
फिल्म हेरेपछि केही महिला दर्शक भावुक हुँदै हलबाट निस्किएको र कतिपय दर्शकले आफ्ना सन्तानलाई फिल्म देखाउनुपर्ने प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ। केही दर्शकले यसलाई बाबुको कथामा बनेका उत्कृष्ट नेपाली फिल्ममध्ये एक भएको प्रतिक्रिया दिएका छन्। वसन्त लम्सालको लगानी रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
फिल्मले सन्तानको भविष्यका लागि एक बाबुले गर्ने त्याग, संघर्ष र समर्पणको कथा प्रस्तुत गरेको छ। बाबुको भूमिकामा दिव्यदेवको अभिनयलाई फिल्मको मुख्य आकर्षणका रूपमा हेरिएको छ।