पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने सङ्कल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताएका हुन् । वरिष्ठ नेता पौडेलले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताए ।
वरिष्ठ नेता पौडेलले आफ्नो पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न सबैलाई निर्देशन दिएका हुन् ।
उनले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धनले जितेको खण्डमा देशलाई सुशासन दिने, युवालाई स्वरोजगार बनाउने र विदेशमा गएर भौतारिनुपर्ने बाध्यताबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेता पौडेलले, ‘‘अहिलेको निर्वाचनमा एक भएर अघि बढेका छौँ। आफ्ना पार्टीका सिद्धान्त, झण्डा सबैथोक छन्। तर, हामी एउटा साझा मुद्दामा एक भएका छौँ। हामीले हरेक जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडासम्ममा सबैले समाजवादी सङ्गठन बनेर कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन सकिन्छ, कसरी सफल पार्न सकिन्छ, कसरी लोकतन्त्र बचाउन सकिन्छ भन्ने कुरालाई मनमा राखेर, अरु कुरा बिर्सेर, महान् लक्ष्य राखेर एकता र समझदारी समझदारी बनाउनुस्।’’
उनले गठबन्धनले जित्ने कुरा ठूलो नभइ प्रतिगमनलाई रोक्ने कुरा नै ठूलो भएको जिकिर गर्नुभयो। उहाँले नेता तथा कार्यकर्तालाई कांग्रेस र कम्युनिष्ट किन मिलेर गठबन्धन गरे भन्ने कुरा बुझाउनसमेत निर्देशन दिएका छन् ।
‘‘प्रतिगामीलाई रोक्ने हाम्रो उद्देश्य हो। हामी जित्नुभन्दा पनि प्रतिगामीलाई रोक्नु ठूलो कुरा हो। अहिले राष्ट्रमाथि ठूलो चुनौती आएको छ। प्रतिगमनलाई परास्त गर्छौं भन्ने सङ्कल्प लिएर चुनावमा जानुस्, जनताको बीचमा जानुस्, जनतालाई सही कुरा बुझाउनुस्, कम्युनिष्ट र कांग्रेस किन मिले बुझाउनुस्’’, नेता पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले सबै गठबन्धनका दल र नेता, कार्यकर्ताले अतीतलाई बिर्सिएर भविष्यलाई उज्यालो बनाउन सहयोग गर्नुपर्ने बताए ।