काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला-ढल्केश्वर-पथलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना र बलेफीखोला जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ। सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि पनि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गरिएको छ।
यसैगरी, पशु, बधशाला तथा मासु जाँच ऐन-२०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिइएको छ।संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन-२०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा। जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरिएको छ।
यससँगै मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको अनुदान स्वीकारदेखि संघीय कानुन संशोधनका लागि विधेयक संसदमा लैजाने र उच्च तहका प्रशासनिक पदमा बढुवा तथा पदस्थापनसम्मका निर्णय गरेको छ।