काठमाडौं । कैलालीमा १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दार्चुलाको मार्मा स्थायी घर भएर गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्नालाई ठगी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा आइतबार राति ठगुन्नालाई खुटियास्थित डेराबाट पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार ठगुन्नाले चुरे गाउँपालिका–५ को सिस्नेरी, गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाका समेत गरेर ३५ जनालाई ठगी गरेको उजुरी छ ।
ठगुन्नाले उनीहरुबाट ४५ हजार रुपैयाँका दरले रकम लिएर कैलालीको गौरीगंगा नगरपालिकामा एक कठ्ठा ऐलानी जग्गा खरिद गरिदिएको भन्दै नक्कली लालपुर्जा थमाएको पाइएको छ ।
भूमी आयोगमा आफ्नो पहुँच भएको बताउँदै रकम लिएर नक्कली लालपुर्जा बाँडेपछि १५ लाख ७५ हजार रुपैयाँ लिएर फरार भएका ठगुन्नालाई पीडित पक्षले समातेपछि प्रहरीलाई बोलाएका थिए ।
ठगुन्नाविरुद्ध पीडित मध्येका चुरे गाउँपालिका–५ बस्ने खड्कबहादुर पुन मगर, सुकलाल राना, हर्कबहादुर खत्री, गोपालबहादुर रोका, सुरेशबहादुर मगर, नेत्रबहादुर साउँद, नरबहादुर बोहरा, हरजित बोहरा,मान्ने बोहरा र चक्र बहादुर साउँद गरेर १० जनाले किटानी जाहेरी दिएका छन् ।