काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले बैंकको सावाँ, ब्याजको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटल बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटलहरूको छाता सङ्गठन हानले तत्काल बैंकको सावाँ, ब्याज तिर्न नसक्ने घोषणा गरेको हो ।
सङ्घले कोभिड–१९ बाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनर्तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
सङ्घका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावाँ, ब्याज पुनर्तालिकीकरण गर्नुपर्ने बताए । सोमवार आज उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटललाई दिएको बैंकको सावाँ, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए ।
विगतको भन्दा होटलहरू सामान्य सुधार भए पनि पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उपाध्यक्ष साहको भनाइ छ । उनले अहिले पनि होटलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका भन्दै बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँ, ब्याज तिर्न दबाब दिइरहेको बताए ।
उनले भने, ‘साढे तीन वर्षदेखि कोरोना महामारीका कारण होटल उद्योग थलिएको छ । सरकारले अतिप्रभावित उद्योग भनेर छुट्याएको थियो । गएका आर्थिक वर्षहरूमा बजेट र मौद्रिक नीतिले होटलहरूले बैंकहरूबाट लिएको सावाँ, ब्याजमा दिने समय थप गरेको थियो । चालु आर्थिक वर्षदेखि भने होटलहरूलाई दिएको सहुलियत खारेज गरियो । होटल उद्योग साढे तीन वर्षपछि पछिल्लो समय केही लयमा आएको वास्तविकता हो । तर होटलहरूले ब्रेक इभेन्ट कमाउन सकिरहेका छैनन् । हेरक दिन होटलहरू घाटामा नै छन् । यस्तो अवस्था बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँ, ब्याज तिर्न दबाब दिएका छन् । होटलहरूले धान्न सक्ने अवस्था छैन ।’
उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीले सावाँ, ब्याज असोज मसान्तमा तिर्न सक्दैनौँ भनेर घोषणा गरेको भन्दै देशभरका होटलमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरू बन्द गर्नुपर्ने चेतावनी दिए ।
उनले होटलहरूलाई तिर्नुपर्ने सावाँ, ब्याज तिर्दै नतिर्ने व्यवसायीे नभनेको भन्दै बैंकहरूलाई सावाँ, ब्याज तिर्ने तर समय दिनुपर्ने बताए । उपाध्यक्ष साहले होटलहरूले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भए पनि अहिलेको परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ, ब्याज तिर्न नसक्ने बताए ।
कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको युद्धको प्रभाव, नेपालमा तीव्ररूपमा फैलिरहेको डेङ्गीको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको उनको भनाइ छ । अहिले पर्यटक बढी आउने सिजनमा आसन्न चुनावले समेत प्रत्यक्षरूपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने उनको गुनासो छ ।