काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँ र काभ्रेको साँगामा गरी १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना भएको छ ।
दशैँ/तिहार, छठ पर्वका बेला यात्रुलाई ठगिन नदिने उद्देश्यले विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुले भाडामा ठगिनुपरेको गुनसो गर्दै आएका छन् ।
यातायात व्यवस्था विभाग र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष राखेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार यात्रु सहायता कक्षबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र अरु आवश्यक समन्वय गरिनेछ । अहिले गाडी भाडा नबढेको र तोकिएको भन्दा बढी भाडा नतिर्न विभागले यात्रुलाई आग्रह समेत गरेको छ ।
कसैले बढी भाडा लिए यात्रु सहायता कक्षमा रहेका प्रहरी र कर्मचारीलाई खबर गर्न पनि विभागको अनुरोध छ । घटस्थापनापछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्छ । दशैँमा झण्डै २० लाख यात्रुले काठमाण्डौ छोड्ने अनुमान छ ।