काठमाडौं । देशका केही भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा थप वर्षा हुने अनुमान गरिएको छ । मोहना मालाखेतीमा जलसतह सतर्कता तह पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरूमा आकस्मिक बाढी आउनुको साथै होचा ठाँउमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवासलगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्यूठानको केही स्थानमा भारी वर्षा भएको छ । यी क्षेत्रमा थप हुनसक्ने महाशाखाको भनाइ छ । बबईका सहायक नदीलगायत कान्द्रा, मोहना, रंधुन, चौधर नदीमा आकस्मिक बहाव हुनसक्ने र तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।