काठमाडौं । काठमाडौं उपत्यकासहित अहिले देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्नेछ । आज राति पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
पछिल्लो ३ घण्टामा मकवानपुर, धादिङ, अर्घाखाँची, दाङ, सुनसरी, सप्तरी, सोलुखुम्बु र सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । अबको एक÷दुई दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको छ ।
त्यस्तै विष्णुमतीमा पनि पानीको सतह बढिरहेकाले काठमाण्डौको बल्खु आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । बाढी पहिरोको जोखिम रहेकाले नदी छेउछाउ तथा भिरालो जमिनमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
यस्तै, यात्रा गर्दा, खेतबारीको काम गर्दा ध्यान दिन सुझाव दिइएको छ । लगातार पानी पर्ने सम्भावना रहेकाले घर बाहिर निस्किँदा छाता, प्लास्टिक, घुम, रेनकोट लगायतका ओडो बोक्न पनि सुझाव दिइएको छ ।