काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय चुनाव प्रयोजनका लागि निवेदन दिएकामध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो ।
आयोगले १ करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते अद्यावधिक (दाबी विरोध) का लागि सूचना टाँस गरिएको जानकारी दिएको छ ।
कम र बढी मतदाता
आयोगका अनुसार, सबैभन्दा बढी मोरङमा ७ लाख १७ हजार ६७ मतदाता छन् भने सबैभन्दा कम मनाङमा छ हजार ५ सय ७१ रहेको छ ।
सबैभन्दा कम ४ सय ५० मतदाता भएको स्थानीय तह मनाङको नार्पाभूमि हो भने काठमाडौँ महानगरपालिका सबैभन्दा बढी ३ लाख ५ सय ८७ मतदाता भएको स्थानीय तह हो ।
आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा तीन तहकै सरकारलाई निर्वाचनसम्बन्धी कार्यमा आवश्यक सहयोग, सहकार्य, समन्वय र तयारीका लागि २४ विषय समावेश गरी निर्देशन हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई लेखी पठाएको छ ।
आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाख बराबरको सामूहिक दुर्घटना बीमा स्वीकृत भएको जानकारी दियो ।
आयोगले विगतका निर्वाचनमा प्रयोग भएका मतपत्रलाई आधार मानी विभिन्न जिल्लामा १६ देखि ६० लहरसम्मको मतपत्रको अनुमान गरिएको राजनीतिक दललाई आज अन्तरक्रियाका क्रममा जानकारी गराएको छ ।
आयोगका अनुसार, १६ लहरको ११ जिल्ला, १८ लहरको ६ जिल्ला, २० लहरको १३ जिल्ला, २४ लहरको १४ जिल्ला, २८ लहरको १२ जिल्ला, ३३ लहरको ११ जिल्ला, ४० लहरको ७ जिल्ला, ४४ लहरको १ जिल्ला, ५० लहरको १ जिल्ला र ६० लहरको १ जिल्लाका लागि मतपत्र अनुमान गरिएको छ ।