पोखरा । नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने महाधिवेशनमा सहमतिकै आधारमा कमिटी बनाउने तयारी नेताहरूले गरिरहेका छन् ।
चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूले नेताहरूसँग लबिइङ गरिरहेका छन् । अध्यक्षका लागि अहिलेकै अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने प्रयास गरिरहेका छन् । अहिलेका उपाध्यक्ष गणेश पाण्डेले नेतृत्व हात पार्ने गरी नेताहरूलाई आगामी योजना र कार्यक्रम नै पेश गरेका छन् ।
माधव नेपाल, टीका विष्ट अध्यक्षका लागि कसरत गरिरहेका छन् । अहिलेका महासचिव राजेश राईले आकांक्षा देखाए पनि धेरै आकांक्षी हुँदा फिर्ता लिन सक्ने सम्भावना रहेको एक नेताले बताए । प्रमोद दाहाल र दीपक पाण्डे पनि अध्यक्षका लागि आकांक्षी छन् ।
महासचिवमा अहिलेका उपमहासचिव हिरामान लामा, कोषाध्यक्ष ईन्द्र आचार्य, केन्द्रीय सदस्य प्रकाश सिलवाल र चेतन अधिकारीले आकांक्षा देखाएका छन् ।
अध्यक्ष तथा पदाधिकारीका आकांक्षीहरूका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ शक्ति केन्द्र बनेका छन् । केही दिनअघि देखि नै आकांक्षीहरूले पृथ्वीसुब्बालाई भेटेर आफ्नो पक्षमा निर्णय गर्न आग्रह गरिरहेका छन् ।
चैतारीमा अध्यक्षसहित ४ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने प्रस्ताव गरिएको । केन्द्रीय समिति १५१ सदस्यीय रहने प्रस्ताव छ । केन्द्रीय कमिटीको संख्या अझै घटाउनेबारे पनि छलफल चलिरहेको छ ।