काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीका कार्यक्रम, गतिविधिबारे जानकारी नगराएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर आपत्ति जनाएका छन् ।
आफूलाई योजनाबद्ध रूपमा पार्टीबाट अलग्याउने प्रयास भएको बन्दै थापाले अध्यक्षलाई पत्र लेखेर ध्यानकर्षण गराएका हुन् ।
१६ माघमा अध्यक्ष लिङ्देनलाई लेखेको पत्रमा थापाले लिङ्देनमाथि तीनवटा आरोप लगाएका छन् । एक, पार्टीमा एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यताविपरीत केन्द्रीय सदस्य मनोनित गरेको । दुई, राष्ट्रियसभा निर्वाचनमा हचुवा नीति अपनाएको । तीन, स्थानीय तह निर्वाचन तयारीमा सुस्तता देखिएको ।
थापाले यी तीन आरोप लगाएर पार्टीको भविष्यको चिन्ता पनि गरेका छन् । त्यसैगरी थापाले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको भूमिकामाथि पनि पुनः पश्न उठाएका छन् र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्न खोज्नुलाई राजतन्त्रविरोधी भन्न नमिल्ने पनि दाबी गरेका छन् ।
थापाले अध्यक्ष लिङ्देनलाई सम्बोधन गर्दै पठाएको पत्रमा २७ मंसिरमा पठाएको पत्रमा उठाएका विषयवस्तुको सम्बोधन नभएको प्रति पनि रोष प्रकट गरेका छन् ।
पार्टीको बृहत्तर हित र एकताका लागि नै २७ मंसिरमा पत्र लेखेरे सैद्धान्तिक र राजनीतिक एवम् सांगठनिक विषय सम्बोधन गर्न आग्रह गरिएको तर अध्यक्ष लिङ्देनले पत्रलाई रद्दीको टाकरीमा फालिदिएको आरोप पनि लगाएका छन् ।