काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याक अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ ।
कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि तत्काल वैकल्पिक मार्ग निर्माण थालिएको थियो । निर्माणको ११औँ दिनसम्म आइपुग्दा भित्तातर्फको कटिङ, सडक सम्याउने र ग्रेडिङको काम सम्पन्न भएको छ । आइतबार परीक्षणका लागि केही सवारीसाधनसमेत नयाँ ट्र्याकबाट पास गराइएको थियो ।
तर, परीक्षणका लागि सवारीसाधन सञ्चालन गरिए पनि नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला भइसकेको छैन । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले अहिले ट्र्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिएका छन् ।
निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार अहिले नयाँ ट्र्याकमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ । नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी सडकको ग्राभेलिङ गरिँदै छ भने सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई ढाकेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको छ ।
सब-बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने इञ्जिनियर नेपालको भनाइ छ । करिब ३ सय मिटर लामो नयाँ ट्र्याकमा ७ मिटर चौडाइको सडक निर्माण गरिएको छ । नालीसहित सडकको कुल संरचना करिब साढे ७ मिटरको रहेको उनले बताए ।
निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११ देखि १२ वटा उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४० देखि ५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँचदेखि छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।
इञ्जिनियर नेपालले कृष्णभीरको नयाँ ट्र्याक जोखिमयुक्त क्षेत्रमा रहेकाले थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन गर्न सकिने बताएका छन् । उनले भने, ‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।’
यता, नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए । उनका अनुसार परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको हो । सर्वसाधारणले नयाँ ट्र्याक खुला भइसकेको भ्रममा नपर्न आग्रह गरिएको छ ।
उनले भने, ‘सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही हिजो सवारीसाधन पास गराइएको हो ।’ थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको सडक आयोजनाले जनाएको छ ।
कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, सडक जोखिमयुक्त क्षेत्रमा रहेकाले वर्षा, थप पहिरो र सडकको अवस्थाअनुसार यातायात सञ्चालन प्रभावित हुन सक्ने देखिन्छ ।