काठमाडौं । पृथ्वीनारायण शाहको जयन्तीलाई राष्ट्रिय एकता दिवस बनाइएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले विरोध जनाएको छ ।
ऐतिहासिक तथ्य बङ्गयाउँदै पृथ्वीनारायणको राज्य विस्तारलाई नेपाल एकीकरण र पृथ्वीनारायणलाई राष्ट्रिय एकताको प्रतिकको रूपमा निर्माण–पुनःनिर्माण गर्नु आदिवासी जनजातिमाथिको अत्याचार भएको महासंघले बताएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कुनै एक व्यक्तिको बलमा नभई सम्पूर्ण नेपालीको बलमा नेपाल निर्माण भएको बताएको छ ।
‘कुनै एक व्यक्ति वा राजा-महाराजाको कारणले नभई सम्पूर्ण नेपाली जनताको योगदानले नेपाल सार्वभौम रहेको तथ्य जगजाहेर छ,’ महासंघले विज्ञप्तिमार्फत भनेको छ । लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा समानताको अभ्यास गर्नुको सट्टा राजा, महाराजाको जन्मजयन्ती मनाउनु प्रतिगामि विचार भएको महासंघको भनाइ छ। ‘भौगोलिक एकीकरण गर्दा भएका गल्ती स्वीकार गर्दै समानतामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई विस्तार गर्नुपर्ने यो घडीमा,’ महासंघको विज्ञप्तिमा लेखिएको छ, ‘राजा-महाराजाको गाथा गाउनु र गाउन लगाउनु निरर्थक मात्रै होइन, प्रतिगामी विचार हो ।’ पृथ्वीनारायणको पुर्नमूल्याङ्कन हुनुपर्ने महासंघको भनाइ छ ।
‘आदिवासी जनजातिहरूको स्वशासन खोस्ने र केन्द्रीकृत एकतन्त्रीय शासन थोपर्ने व्यक्तिका जीवन र काम हेर्दा अब बहुलता र विविधताको कसीमा घोटेर उनलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने देखिन्छ’, विज्ञप्तिमा भनिएकाे छ । राज्य विस्तारका क्रममा पृथ्वीनारायण र उनका सैनिकले गरेका अत्याचार स्विकारेर वर्तमान राज्यले माफी माग्नुपर्ने महासंघको विचार रहेको छ ।
‘गोर्खा राज्यको विस्तार भनेको आदिवासी जनजातिमाथि ऐतिहासिक–राजनीतिक अन्यायको विस्तार भएको पुनःस्पष्ट पार्दै तथाकथित एकीकरणको गलत इतिहास दोहोर्याइरहने,’ महासंघले भनेको छ, ‘र पृथ्वी जयन्ती मनाउन बाध्य पार्ने सबै पक्षप्रति हाम्रो गम्भीर असहमति रहेको प्रस्ट पार्दछौँ ।’