काठमाडौं । भदौ १० गते तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढीमा चीनतर्फ ४३ जनाको मृत्यु भएको छ। बाढीमा परी ५१९ जना सम्पर्कविहीन रहेको चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यम सिजिटिएनले जनाएको छ।
शुक्रबारसम्म बाढी प्रभावित क्षेत्रबाट ४३ जनाको शव निकालिएको छ भने दुई जनालाई जीवितै उद्धार गरिएको छ। बेपत्ता हुनेमा २३ देशका २६१ जना नागरिकसमेत रहेको समाचारमा उल्लेख छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
माथिल्लो क्षेत्रमा हिमचट्टान फुटेर ल्हेन्दे खोलामा मिसिएपछि आएको भीषण बाढीले नेपाल र चीन दुवैतर्फ ठूलो क्षति पुर्याएको छ। नेपालतर्फ पनि बाढी र पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ। शुक्रबार बेलुकीसम्म नेपालमा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३८६ पुगेको छ भने ५ हजार १३० जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ।
चीनबाट उद्धार सामग्री र विशेषज्ञ टोली
बाढीपहिरोमा परेकाहरूको खोजी, उद्धार तथा राहतका लागि चीनले समेत सहायता पठाइरहेको छ।
सिजिटिएनका अनुसार चीनले सुरुङ उद्धार टोली, डीएनए विशेषज्ञ, अत्यावश्यक सामग्री तथा ३२० टन बेली ब्रिज पठाएको छ।
चीनतर्फ बेपत्ता भएकाहरूको खोजी जारी रहँदा नेपालतर्फ पनि उद्धार, राहत तथा पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ।