काठमाडौं । भारतका प्रसिद्ध आध्यात्मिक गुरु प्रेमानन्द जी महाराजको जीवनमाथि फिल्म बन्ने भएको छ । नीम करोली बाबाको जीवनबाट प्रेरित फिल्म ‘हनुमान अंश’ले चर्चा बटुलेपछि बलिउडमा सन्त तथा धर्मगुरुहरूको जीवनमा आधारित फिल्म निर्माणको क्रम बढिरहेका बेला प्रेमानन्द महाराजको जीवनमा पनि फिल्म बन्ने घोषणा गरिएको हो ।
किन्नर समुदायको धार्मिक संगठन वैष्णव किन्नर अखाडाकी प्रमुख शंकराचार्य हिमांगी सखीले प्रेमानन्द महाराजको जीवनमा फिल्म बनाउने घोषणा गरेकी हुन् । उनका अनुसार फिल्मको नाम ‘राधा अंश’ राखिनेछ ।
फिल्ममा प्रेमानन्द महाराजको आध्यात्मिक जीवन, उनका विचार तथा राधारानीप्रतिको भक्तिलाई प्रस्तुत गरिने बताइएको छ । निर्माणका लागि प्रारम्भिक चरणको कुराकानी भइसकेको र निर्माण टोलीले पनि फिल्म बनाउन सहमति जनाएको हिमांगी सखीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएकी छन् ।
फिल्म निर्माण अघि बढाउन प्रेमानन्द महाराज र उनका अनुयायीहरूबाट आधिकारिक अनुमति लिन केही दिनमा भेट गर्ने तयारी भइरहेको पनि उनले बताएकी छन् ।
विराट र अनुष्काको नाम चर्चामा
फिल्म निर्माणको घोषणा भएसँगै भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको नाम पनि चर्चामा आएको छ । दुवै जना प्रेमानन्द महाराजप्रति श्रद्धा राख्ने गरेका कारण उनीहरू फिल्ममा देखिन सक्ने अनुमान गरिएको हो ।
विराट कोहली र अनुष्का शर्मा वृन्दावनस्थित प्रेमानन्द महाराजको आश्रममा चारपटक पुगिसकेको बताइएको छ । यही कारण फिल्ममा उनीहरूको सम्भावित सहभागिताबारे चर्चा सुरु भएको हो ।
यद्यपि, ‘राधा अंश’मा विराट कोहली र अनुष्का शर्मा कलाकारका रूपमा रहने वा नरहनेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
फिल्मको निर्माण, कलाकार चयन र प्रदर्शन मितिबारे थप विवरण भने आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।