काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने टिप्पणी गरेका छन् । मंगलबार पार्टीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए ।
नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए । ‘नेपालमा जति पनि पार्टीहरू छन् । सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टीहरू छन्,' प्रचण्डले भने, 'सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारहरूलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन् ।'
शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि उनको भनाइ थियो। 'टेक्निकल्ली तपाईंहरूलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बीचमा काम गर्ने वातावरण बनाइन्छ। बनाउनुपर्छ । तपाईँहरू द्विविधामा नरहनुहोला,’ प्रचण्डले भने । 'शिक्षकहरूले राजनीति गर्नुहुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीतिबाहेक केही हुने छैन,' प्रचण्डले भने, 'म त के भन्छु भने शिक्षकहरू अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ ।' शिक्षकको सहयोगमा मात्र सामाजिक र राजनीतिक रुपान्तरणको महान् अभियानमा देशलाई लैजान सकिने उनको भनाइ थियो ।
शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि उनको भनाइ थियो । राज्यले विभेद गरेकाले शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाइ छ । ‘अमेरिकाको जस्तै शिक्षकहरू तपाईंहरू पनि भएको भए के को आन्दोलनकारी हुने ? तपाईंहरूमाथि राज्यले अन्याय गरेको छ । त्यस कारण तपाईंहरू क्रान्तिकारी हुनुभएको,' प्रचण्डले भने, 'तर, सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन, मैले त्योचाहिँ नबुझ्नु होला ।’