काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । निधिका प्रेस सल्लाहकार रामजी दाहालले सामाजिक सञ्जालमार्फत सोमबार बेलुका २३२ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।
संक्षिप्त घोषणा पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको निधिले उल्लेख गरेका छन् । जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न पनि उम्मेदवार बन्न लागेको निधिले बताएका छन् ।
वैचारिक रुपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस सभापति पदमा आफूले उम्मेदवारी दिन लागेको निधिले उल्लखे गरेका छन् । उनको घोषणापत्रमा भनिएको छ, 'नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराइ नेतृत्व विकास गर्न। राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न।'
जातीय, साँस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्नका लागि आफ्नो उम्मेदवारी रहने निधिले जनाएका छन् । कांग्रेस महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म् काठमाडौंमा हुने भएको छ।