काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुनव्यवसायीले आइतबार देशभर बहस पैरवी नगर्ने भएका छन् । सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रमलाई दबाउन खोजिएको भन्दै कानुनव्यवसायीले आइतबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका हुन् ।
यसअघि हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै कानुनव्यवसायीले आपत्ति जनाएका छन् । नेपाल बार एशोसिएशनको नेतृत्वमा भइरहेको आन्दोलनमा आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने तथा संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।
यस्तै मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने कार्यक्रम छ भने बुधबार देशभरका सबै उच्च अदालतमा बृहत् विरोधसभा गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै बार इकाइ सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने कार्यक्रम तय गरिएको नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
न्यायपालिकाको विकृति, विसंगति, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई मुख्य शर्त बनाएको बारले गत कात्तिक १४ गतेदेखि निरन्तर विरोध र धर्ना जारी राखेको छ ।