काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिइन् ।
उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भार कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पारिन् ।
शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरतको निम्ति, काठमाडौं उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन् ।
राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषण कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिएकी छन् ।
उनले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गरिन् ।
उनले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढन सके मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाइ नहुने बताइन् ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पु¥याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।