भैरहवा । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् ।
भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, ‘हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।’
उनले नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दू राष्ट्र जरुरी रहेको उनको दाबी छ ।
भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउने पनि बताए । उनले भने, ‘पूरा एसिया महाद्वीप हिन्दू राष्ट्रका रूपमा स्थापित हुनेछ ।’
श्रीनिश्चलानन्दले सनातन आर्य बैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुर्व्यसनबाट मुक्त र आर्थिकरूपले पनि सम्पन्नशाली हुँदै जाने बताए ।
उनले पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्ययम नै सनातन आर्य बैदिक हिन्दूत्वको अङ्गीकार भएको बताए ।