भक्तपुर । पूर्वमन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सांसद महेश बस्नेतले वडा विभाजन र समायोजनको बिषय राज्य पुनर्संरचनाको नियमित प्रक्रिया भएकाले यसलाई जटिल बनाउन नहुने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिकाको नवौं नगर अधिवेशनमा बोल्दै बस्नेतले नगरपालिकाको वडा संयोजनको बिषयलाई जटिल र ठूलो बनाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको एक बर्ष अगाडिको नगरसभा भएकाले पनि नगरपालिकाभित्रको वडा समायोजन गर्ने बिषयमा तपाईहरुले खुलमखुला छलफल गरेर अगाडि बढ्नुपर्दछ । वडा समायोजन गर्ने बिषयमा मत विभाजन गर्ने मोडलमा हामी जानु हुँदैन ।’
नगरलाई व्यवस्थित गर्नको निम्ति एउटा उच्च तहको समझदारी बनाएर अगाडि बढाउनु उचित हुने बताउँदै बस्नेतले हाम्रा ठूला वडाहरुलाई व्यवस्थित गरेर विकासको नयाँ मोडलमा जानको लागि प्रचलित ऐन र कानुन कार्यान्वयन गर्न सकियो भने वडा समायोजन गर्नु सबैभन्दा राम्रो भएको बताउनुभयो ।
विगतमा पनि वडा विभाजन भएको स्मरण गर्दै बस्नेतले भन्नुभयो, ‘हिजो बालकोट र कटुन्जे दुई/दुई वडामा विभाजन भयो । आजका दिनमा हामीले दधिकोट, सिपाडोललाई ध्यान दिनु जरुरी छ भने भोलिका दिनमा गुण्डू, सिरुटार, नंखेल, चितापोलमा पनि सोही अनुरुप जानुपर्दछ ।’
विकासको अवधारणाभित्र राज्यको पुनर्संरचना पनि भएकाले हिजो सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकालाई मर्ज गरेर एउटै नगरपालिका बनेको बताउँदै बस्नेतले भन्नुभयो, ‘भोलि उपमहानगर र महानगरपालिका बनाउनुपर्ला ? उक्त तथ्यलाई पनि ध्यान दिँदै वडाका विभाजन र व्यवस्थापन एकदमै सामान्य रुपमा लिनु जरुरी छ । यसलाई जटिल र भावनात्मक बिषय बनाउनु म आवश्यक ठान्दिन ।’
उहाँले भक्तपुरमा सन्तुलित विकासको अवधारणालाई समेत आत्मसाथ गरिएको बताउनुभयो । हाल प्रत्येक वडामा ४ देखि ५ करोड रुपैयाँ वराबरको भौतिक पूर्वाधार निर्माण कार्य भएको बस्नेतले बताउनुभयो ।
स्वास्थ्य क्षेत्र नेपाल सरकारको पनि प्राथमिकतामा परेको बताउँदै बस्नेतले भक्तपुरमा स्वास्थ्य पूर्वाधारहरु निर्माणका लागि २८ करोड भन्दा बढी रकम स्वास्थ्य संरचनाका लागि ल्याउन सफल भएको बताउनुभयो ।
नगरपालिकाले पूर्णता पाउनको निम्ति सडक, विजुली, भौतिक पूर्वाधार लगायत स्मार्ट सिटी समेत बनाउनुपर्ने भएकाले यो अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बस्नेतले बताउनुभयो ।
बस्नेतले भन्नुभयो,‘स्मार्ट सिटी, रंगशाला, कभर्ड हल आवश्यक हुन्छ । अस्पताल, खुल्ला मैदान, तर यस्ता बिषयमा केही राजनीतिक हस्तक्षेप हुँदा यस्ता कार्यले निरन्तरता पाउन सकेको छैन । म नगरपालिकाका जिम्मेवार पदाधिकारीहरुलाई हिम्मत गर्न अनुरोध गर्छु ।’
भिडियो हेर्न क्लिक गर्नुहोस्