काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमण तत्काल हुने सम्भावना न्यून देखिएको छ। चिनियाँ पक्षले प्रधानमन्त्री शाहलाई बेइजिङ भ्रमणको निम्तो दिए पनि भ्रमणको तयारी अघि बढ्न सकेको छैन। भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्रीको चीन भ्रमणका लागि आवश्यक औपचारिक प्रक्रिया र तयारी सुरु नभएको नेपाली तथा चिनियाँ पक्षको बुझाइ छ।
नेपाली पक्षका अनुसार आगामी एक महिनाभित्र भ्रमण सम्भव देखिँदैन। त्यसपछि नेपालमा स्थानीय निर्वाचनको कार्यतालिका अघि बढ्ने भएकाले उच्चस्तरीय भ्रमण थप प्रभावित हुन सक्नेछ। निर्वाचनको मिति घोषणा भएपछि चुनावी प्रक्रिया सम्पन्न नभएसम्म प्रधानमन्त्रीको विदेश भ्रमण सम्भव नहुने स्रोतको भनाइ छ। बेइजिङस्थित नेपाली दूतावासले समेत भ्रमणको तयारीका लागि अहिलेसम्म कुनै औपचारिक निर्देशन प्राप्त नभएको जनाएको छ।
प्रधानमन्त्रीको चीन भ्रमण अनिश्चित भइरहेका बेला दुई देशबीचको कूटनीतिक सम्बन्ध र विकास परियोजनाका विषयमा भने मतभिन्नता देखिएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क तथा ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कअन्तर्गतका परियोजनालाई प्राथमिकतामा नराखेको चिनियाँ पक्षको बुझाइ छ।
सरकारी भेटवार्तामा बीआरआईको विषयलाई पर्याप्त प्राथमिकता नदिइएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनालाई विवादमा तानिएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ। त्यस्तै, टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने विषयमा पनि प्रशासनिक तथा राजनीतिक अवरोध रहेको चिनियाँ पक्षको बुझाइ छ।
यद्यपि, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत मन्त्रीहरूसँग चिनियाँ पक्षको संवाद जारी छ। नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउने विषयमा पनि चीनसँग पहल गरिरहेको छ। तर, भौगोलिक कठिनाइका कारण तत्काल नाका पूर्ण रूपमा सञ्चालन गर्न सहज नहुने चिनियाँ पक्षको जवाफ छ।
नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणबाहेक उच्चस्तरमा उल्लेखनीय भ्रमण हुन सकेको छैन। यसअघि रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणको तयारी भए पनि भोटेकोशी बाढीका कारण स्थगित भएको थियो। हालै रास्वपाका २० सांसदले भने चीन भ्रमण गरेका छन्।
चिनियाँ पक्ष प्रधानमन्त्री शाहलाई बेइजिङमा स्वागत गर्न इच्छुक देखिए पनि निकट भविष्यमा भ्रमण हुनेमा आशावादी छैन। त्यसैले प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने विषय अहिले पनि अनिश्चित नै छ।