काठमाडौं । बेलायतमा उच्च शिक्षा, रोजगारी र स्थायी बसोबासको सपना बोकेर जाने नेपालीका लागि आप्रवासनसम्बन्धी नयाँ नियम चुनौतीपूर्ण बन्ने देखिएको छ। बेलायत सरकारले विदेशी नागरिकको बसाइँ, रोजगारी र स्थायी बसोबासलाई थप कडाइ गर्ने नीति अघि बढाएसँगै नेपाली विद्यार्थी तथा कामदार प्रभावित हुने भएका छन्।
नयाँ व्यवस्थाअनुसार बेलायतमा स्थायी बसोबास अर्थात् इन्डिफिनेट लिभ टु रिमेन (आईएलआर) प्राप्त गर्न सामान्यतया १० वर्षको योग्यता अवधि पूरा गर्नुपर्नेछ। यसअघि अधिकांश योग्य भिसा श्रेणीमा पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सकिने व्यवस्था थियो। तर अब आम्दानी, रोजगारी, सामाजिक योगदान, अंग्रेजी भाषा र कानुनी आचरणका आधारमा स्थायी बसोबासको अवधि निर्धारण गरिनेछ। उच्च आम्दानी गर्ने तथा निश्चित सार्वजनिक सेवामा योगदान पुर्याउने व्यक्तिले भने तीन वा पाँच वर्षमै स्थायी बसोबासको अवसर पाउन सक्नेछन्। नयाँ व्यवस्थामा अस्थायी विद्यार्थी तथा ग्राजुएट भिसामा बिताएको समय मात्रैका आधारमा १० वर्षे स्थायी बसोबासको अवधि पूरा भएको मानिने छैन।
विद्यार्थीका लागि पनि अर्को महत्वपूर्ण परिवर्तन हुँदैछ। बेलायतमा स्नातक वा स्नातकोत्तर अध्ययन पूरा गरेपछि काम खोज्न र अनुभव हासिल गर्न दिइने ग्राजुएट भिसाको अवधि सन् २०२७ जनवरी १ देखि आवेदन दिने अधिकांशका लागि दुई वर्षबाट घटाएर १८ महिनामा सीमित गरिनेछ। पीएचडी तथा अन्य डक्टरल तह पूरा गर्नेका लागि भने तीन वर्षकै अवधि कायम रहनेछ। यसले बेलायतमा पढाइ सकेपछि रोजगारी खोज्ने नेपाली विद्यार्थीलाई उपलब्ध समय थप सीमित बनाउनेछ।
कामदार भिसामा पनि अंग्रेजी भाषाको योग्यता कडा पारिएको छ। सन् २०२६ जनवरी ८ देखि नयाँ स्किल्ड वर्कर, स्केल-अप र हाई पोटेन्सियल इन्डिभिजुअल भिसाका आवेदकले अंग्रेजी भाषाको बी२ स्तर प्रमाणित गर्नुपर्नेछ। यसअघि यी श्रेणीमा बी१ स्तरको योग्यता आवश्यक थियो। यससँगै विदेशी कामदार भर्ना गर्न सकिने रोजगारीका क्षेत्र र पदमा समेत बेलायतले प्रतिबन्ध तथा सीमा कडा बनाएको छ।
यी परिवर्तनले बेलायतलाई अध्ययन र रोजगारीको गन्तव्य बनाएका नेपालीका लागि थप तयारी र आर्थिक योजनाको आवश्यकता देखाएको छ। विशेषगरी पढाइपछि काम खोज्ने अवधि घट्नु, रोजगारीको योग्यता पूरा गर्नुपर्ने र स्थायी बसोबासका लागि लामो समय कुर्नुपर्ने व्यवस्थाले नेपाली विद्यार्थी तथा कामदारको योजना प्रभावित हुन सक्छ। यद्यपि सबै भिसा श्रेणीमा एउटै नियम लागू हुँदैन र केही विशेष समूहका लागि छुट तथा छिटो स्थायी बसोबासको बाटो पनि राखिएको छ।
बेलायत सरकारले स्थायी बसोबाससम्बन्धी नयाँ नीतिको अन्तिम खाका सार्वजनिक गरे पनि यसको विस्तृत कार्यान्वयन नियम र संक्रमणकालीन व्यवस्था स्पष्ट हुन बाँकी छ। त्यसैले बेलायत जाने तयारीमा रहेका नेपाली विद्यार्थी तथा कामदारले आवेदन दिनुअघि आफ्नो भिसा श्रेणीअनुसार लागू हुने पछिल्लो नियम बुझ्नु आवश्यक देखिएको छ।