भक्तपुर । सूर्यविनायक नगरपालिकाले चालू आर्थिक बर्ष २०७७/०७८ मा १ अर्ब ४८ करोड विनियोजन गरेकोमा ११ महिनाको अवधिमा ६५.५ प्रतिशत खर्च गरेको छ ।
राजश्व परिचालन एवं अन्य संघीय बजेट बृद्धि भएसँगै आर्थिक बर्षको अन्त्यसम्म कूल विनियोजनको १ अर्ब ५३ करोड अर्थात् स्वीकृत बजेटको १०३ प्रतिशत खर्च हुने संशोधित अनुमान समेत गरेको छ । आज सम्पन्न नगरपालिकाको नवौं अधिवेशनमा बजेट बक्तव्य प्रस्तुत गर्दै सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले यो बिषम परिस्थितिमा समेत स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा लक्षित कार्यक्रमको उपलब्धी ७१ प्रतिशत भन्दा बढी हुने अनुमान रहेको बताउनुभयो ।
बस्नेतले भन्नुभयो, ‘२०७८ जेठ मसान्तसम्म नगरपालिकाले आन्तरिक राजश्व १३ करोड ७६ लाख ६० हजार अर्थात् आन्तरिक राजश्वको लक्ष्यको तुलनामा १४१ दशमलव ८ प्रतिशत भएको छ । यो प्रतिशत संशोधित अनुमानमा २०० प्रतिशत हुने लक्ष्य रहेको छ ।’
बस्नेतले आर्थिक बर्ष २०७७/०७८ का लागि पेश भएको बजेटको लक्ष्य भन्दा बढी वित्तिय प्रगति भएको समेत बताउनुभयो ।
नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयन गर्न बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको आगामी आर्थिक वर्षकालागि १ अर्व ५७ करोड ६३ लाख रुपैंया कुल बजेट विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालुतर्फ शाखागत कार्यक्रम रु १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा रु १४ करोड, वडागत चालू कार्यक्रम रु २ करोड १५ लाख रुपैँया रहेको छ ।
नगरपालिकाले चालू १६ करोड २० लाख ८२ हजार गरी कूल ५१ करोड २२ लाख ५८ हजार विनियोजन गरेको छ । पूँजीगत कार्यक्रमतर्फ रु ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ रु ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरेको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट १८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु २४ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट रु २२ करोड ५६ लाख ८२ हजार संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ ।
संघ तथा प्रदेशको राजस्व बाँडफाँड रु १३ करोड ४ लाख ४८ हजार, सशर्त अनुदानबाट रु ३२ करोड ४१ लाख ९५ हजार जिसस समपूरक कोषबाट रु २ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १४ करोड प्रदेश समपुरक योजनाबाट ३ करोड र सडकबोर्ड तथा सशर्तका विविध कार्यक्रमबाट ३/३ करोड प्राप्त हुने अनुमान छ ।
बजेट वक्तव्यको पूर्ण पाठ