काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ८०औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट राष्ट्रका नाममा ७६ मिनेट लामो सम्बोधन गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य पुनः दोहोर्याएका छन्। यो स्वतन्त्रता दिवसमा उनले दिएको लगातार १३औँ सम्बोधन हो।
भाषणको सुरुवातमा मोदीले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूसहित सरदार वल्लभभाइ पटेल, नेताजी सुभाषचन्द्र बोस, डा. भीमराव आंबेडकर, भगत सिंह, सुखदेव, राजगुरु, बिरसा मुन्डा र ज्योतिबा फुलेलगायत स्वतन्त्रता आन्दोलनका नेताहरूलाई स्मरण गरे। उनले उनीहरूको सपना साकार पार्दै समृद्ध र आत्मनिर्भर भारत निर्माण गर्न सबैलाई आह्वान गरे।
सम्बोधनका क्रममा मोदीले आफ्नो १२ वर्षे कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै युवा, महिला, किसान, गरिब र मध्यमवर्गलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले भारतको उत्पादन, रक्षा, रेलवे, सञ्चार, औषधि उद्योग, कपडा उद्योग र स्टार्टअप क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे।
‘दिमागी नक्सल’ चुनौतीबारे चेतावनी
मोदीले नक्सलवाद र माओवादी हिंसालाई भारतको दीर्घकालीन चुनौतीका रूपमा उल्लेख गर्दै विगत चार दशकमा यसका कारण हजारौं सुरक्षाकर्मीले ज्यान गुमाएको बताए। उनले सशस्त्र नक्सल गतिविधि कमजोर बन्दै गएको दाबी गरे पनि ‘दिमागी नक्सल’ अझै चुनौतीका रूपमा रहेको भन्दै समाजलाई सचेत रहन आग्रह गरे।
आर्थिक विकास र गरिबी न्यूनीकरणका दाबी
प्रधानमन्त्री मोदीले पछिल्लो १२ वर्षमा २५ करोड भारतीय नागरिक गरिबीबाट बाहिर आएको दाबी गरे। रक्षा उत्पादन चार गुणा, मोबाइल फोन उत्पादन ३३ गुणा तथा डिजिटल कारोबार १०० गुणाले वृद्धि भएको उनले उल्लेख गरे। साथै, पेटेन्ट स्वीकृति, पूर्वाधार विकास, आवास निर्माण र मेट्रो विस्तारमा पनि उल्लेखनीय उपलब्धि हासिल भएको उनको भनाइ थियो।
ऊर्जा सुरक्षा र सेमिकन्डक्टरमा जोड
मोदीले भारतमा तीनवटा सेमिकन्डक्टर प्लान्ट सञ्चालनमा आइसकेको र आगामी वर्षहरूमा थप प्लान्ट स्थापना हुने जानकारी दिए। कृत्रिम बौद्धिकता, डेटा सेन्टर र चिप उद्योगका लागि ऊर्जा सुरक्षा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उनले परमाणु ऊर्जा र समुद्री तेल तथा ग्यास अन्वेषणलाई प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार पाइपबाट ग्यास उपलब्ध हुने सहरको संख्या ७० बाट ७०० पुगेको छ भने सौर्य ऊर्जा उत्पादन क्षमता २ गिगावाटबाट बढेर १६० गिगावाट पुगेको छ। रेलवे विद्युतीकरणमा पनि उल्लेखनीय प्रगति भएको उनले बताए।
किसान, स्टार्टअप र महिला सशक्तीकरण
विश्वव्यापी संकटका बीच पनि भारतीय किसानलाई सहुलियत दरमा मल उपलब्ध गराइएको दाबी गर्दै मोदीले कृषि क्षेत्रलाई थप आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले खाद्य प्रशोधन, आपूर्ति प्रणाली र रसायनमुक्त खेतीमा जोड दिए।
युवालाई लक्षित गर्दै मोदीले भारतमा २ लाख ५० हजारभन्दा बढी स्टार्टअप दर्ता भएको जानकारी दिए। स्टार्टअप प्रवर्द्धनका लागि सरकारले १ लाख करोड रुपैयाँको कोष स्थापना गरेको पनि उनले बताए।
त्यसैगरी उनले सबै राजनीतिक दललाई लोकसभा र राज्य विधानसभामा महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरे।
‘रिफर्म एक्सप्रेस’को घोषणा
भाषणको अन्त्यमा मोदीले सन् २०४७ सम्म विकसित भारत निर्माण गर्ने लक्ष्य हासिल गर्न सुधार, आत्मनिर्भरता, उत्पादन, प्रविधि, ऊर्जा सुरक्षा र युवा शक्तिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी वर्षहरूलाई ‘रिफर्म एक्सप्रेस’को यात्रा भन्दै तीव्र आर्थिक तथा संरचनात्मक सुधारलाई निरन्तरता दिने घोषणा गरे।