काठमाडौं । इरानले होर्मुज जलडमरू आफ्नो निर्णयबिना नखोल्ने अडान दोहोर्याएसँगै मध्यपूर्वको तनाव थप गहिरिएको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध जारी रहेसम्म इन्धनको मूल्य उच्च रहन सक्ने भन्दै अमेरिकी नागरिकलाई महँगो पेट्रोलका लागि तयार रहन आग्रह गरेका छन्।
इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले पराजय स्वीकार नगरेसम्म र ‘काल्पनिक कुरा’ गर्न नछाडेसम्म होर्मुज जलडमरूमा नाकाबन्दी कायम रहने बताएका छन्। उनले होर्मुज जलडमरू इरानको आदेशमा मात्र खुल्ने र बन्द हुने दाबी गर्दै कुनै सैन्य शक्ति वा राजनीतिक दबाबबाट इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारे।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले पनि अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा कुनै निर्णय नभएको बताएका छन्। उनका अनुसार विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक जलमार्ग पुनः सञ्चालन हुनुअघि अमेरिकाले केही सर्तहरू पूरा गर्नुपर्नेछ। युद्धको असर अमेरिकाको इन्धन बजारमा समेत देखिन थालेको छ। अमेरिकी अटोमोबाइल एसोसिएसन (AAA) का अनुसार एक ग्यालोन पेट्रोलको औसत मूल्य ४.०८ अमेरिकी डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा करिब २९ प्रतिशत बढी हो।
न्युयोर्कको गार्डेन सिटीमा आयोजित एक राजनीतिक कार्यक्रममा राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न केही आर्थिक मूल्य चुकाउनुपर्ने बताएका छन्। उनले युद्ध समाप्त भएपछि होर्मुज जलडमरूलाई अमेरिकाको भूभाग घोषणा गर्ने दाबीसमेत गरेका छन्। यसबीच कच्चा तेलको मूल्य पनि निरन्तर बढिरहेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य साप्ताहिक रूपमा करिब ६ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) ५.४ प्रतिशतले बढेको छ।
होर्मुजबाट तेल बोकेका जहाजको आवागमन ठप्प
युद्ध सुरु हुनुअघि दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने होर्मुज जलडमरूबाट शुक्रबार दुईवटा मात्र जहाज पार भएका थिए। जहाज ट्र्याकिङ कम्पनी केप्लरका अनुसार ती जहाजले समेत कच्चा तेल ढुवानी गरेका थिएनन्। नियमित तेल आपूर्ति प्रभावित हुँदा विश्व ऊर्जा बजारमा थप दबाब परेको विश्लेषण गरिएको छ।
इरानको अनुमति बिना जलडमरू पार गर्ने जहाजमाथि क्षेप्यास्त्र वा ड्रोन आक्रमणको जोखिम रहेको चेतावनी दिइएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले एडीएनओसीसँग सम्बन्धित जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ भने बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स (UKMTO) ले पनि होर्मुज क्षेत्रमा एक मालवाहक जहाज अज्ञात प्रक्षेप्यास्त्रको निशानामा परेको जनाएको छ।
यता इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी नाकाबन्दी र तेल निर्यातमा लगाइएको प्रतिबन्धका कारण देशमा मुद्रास्फीति बढेको स्वीकार गरेका छन्। उता यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरस्थित मोखा बन्दरगाहमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा चार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ। यस घटनाले मध्यपूर्वको युद्ध अझै फैलिन सक्ने चिन्ता बढाएको छ।