काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव देशभर कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेको छ। यसका कारण देशका अधिकांश स्थानमा बदली भएको छ भने बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कर्णालीका केही स्थान तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षासमेत भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेश र कोशीका तराई क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। रातिको समयमा पनि मौसमको अवस्था यस्तै रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ। भारी वर्षाका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने उल्लेख गर्दै स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।