काठमाडौं । आगामी अगष्ट ३० देखि मलेसियामा सुरु हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीलाई शुक्रबार औपचारिक रूपमा बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजित कार्यक्रममा टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो। नेपाली टोली प्रतियोगिताअघि केही दिन भारतमा प्रशिक्षण गर्नेछ र त्यसपछि मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।
प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ छन् भने अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। त्यसपछि सेप्टेम्बर ३ मा बहराइन, सेप्टेम्बर ५ मा आयोजक मलेसिया र सेप्टेम्बर ७ मा हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछन्।