काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लामो टिजरले प्रेम, सम्बन्ध र बाध्यताबीच अल्झिएको एक पात्रको भावनात्मक यात्राको झलक प्रस्तुत गरेको छ।
टिजरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन्। उनी तीन फरक युवतीसँग प्रेम सम्बन्धमा रहेको देखाइएको छ भने सृष्टि श्रेष्ठ र नीति शाहसँग विवाह भएको दृश्यले कथामा रोचक मोड आउने संकेत गर्छ। सम्बन्धमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र जीवनका कठिन निर्णयलाई टिजरमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ। टिजरले फिल्म पारिवारिक कथा र अप्रत्याशित मोडले भरिएको हुने संकेत दिएको छ।
भदौ २६ गते, तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी र सुजाता श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। यस फिल्ममार्फत अभिनेता दिल श्रेष्ठले करिब ९ वर्षपछि नेपाली चलचित्रमा अभिनयमा पुनरागमन गरेका छन्।
पत्रकार ध्रुव लम्सालको लेखन रहेको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। फिल्ममा सुदीप बरालको छायांकन, बनिष शाहको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत तथा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।
निर्माण पक्षका अनुसार ‘माया भनेकै यस्तो होला’ले प्रेमकथामार्फत पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र मानवीय भावनाको कथा प्रस्तुत गर्नेछ।