काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाको डार्विनमा अगस्ट २१ देखि ३० तारिखसम्म हुने टप एन्ड टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। टोलीको कप्तानी विकेटकिपर-ब्याटर अनिलकुमार साहले गर्नेछन्।
घोषित १५ सदस्यीय टोलीमा मयन यादव, दिनेश अधिकारी, कुशल भुर्तेल, प्रतिक सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रासिद खान, नारायण जोशी, आकाश चन्द, साहिल आलम, विपिन खत्री, हेमन्त खत्री र अर्जुन ढकाल समावेश छन्।
नेपालले प्रतियोगिताको लिग चरणमा कुल ६ खेल खेल्नेछ। पहिलो खेल अगस्ट २१ मा एनटी स्ट्राइकसँग हुनेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई-परफर्मेन्स टोली, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गत संस्करणमा पनि यस प्रतियोगितामा सहभागिता जनाएको थियो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार, टप एन्ड टी-२० सम्पन्न भएपछि यही टोलीले अस्ट्रेलियामै आयोजना हुने साउथ अस्ट्रेलिया, टास्मानिया र एनटी स्ट्राइकर्स सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजमा पनि प्रतिस्पर्धा गर्नेछ।