काठमाडौं । देशभर यस वर्षको धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। कृषि विभागका अनुसार साउन २२ गतेसम्म १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६।०६ प्रतिशत हो।
गत वर्ष यही अवधिसम्म देशभर ९१.३१ प्रतिशत मात्र धान रोपाइँ भएको थियो। त्यतिबेला १३ लाख ७८ हजार ९६७ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये करिब १२ लाख ५७ हजार हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विभागको तथ्यांकले देखाएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा उत्कृष्ट प्रगति गर्दै शतप्रतिशत धान रोपाइँ सम्पन्न गरेको छ। प्रदेशका १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। त्यस्तै, बागमती प्रदेशमा ९७.८२ प्रतिशत, लुम्बिनीमा ९७.३७ प्रतिशत, कर्णालीमा ९६.८२ प्रतिशत, गण्डकीमा ९५.५७ प्रतिशत, मधेशमा ९४.६५ प्रतिशत र कोशीमा ९३.६९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
कृषि मन्त्रालयका अधिकारीहरूका अनुसार यस वर्ष समयमै मनसुन सक्रिय हुनु, पर्याप्त वर्षा हुनु तथा रोपाइँका लागि अनुकूल मौसम बनेकाले धान रोपाइँको प्रगति उत्साहजनक देखिएको हो।
धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षा र कृषि अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ। यस वर्ष रोपाइँको गति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधार भएकाले उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ।