एजेन्सी । इरानले विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्न अमेरिकासमक्ष कडा सर्त अघि सारेको छ। इरानले हर्मुज क्षेत्रमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, प्रतिबन्ध फुकुवा गर्नुपर्ने तथा हालैको सैन्य द्वन्द्वबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले हर्मुज जलसन्धि सुचारु गर्न अमेरिकाले पूरा गर्नुपर्ने ६ वटा सर्त सार्वजनिक गरेका हुन्। इरानका प्रमुख मागमा इरान र उसका ‘पवित्र मूल्यहरू’ विरुद्धका धम्की अन्त्य गर्नुपर्ने, इरान तथा उसका क्षेत्रीय सहयोगीविरुद्धको सैन्य कारबाही स्थायी रूपमा रोक्नुपर्ने र इरानविरुद्धको नाकाबन्दीमा संलग्न अमेरिकी नौसैनिक तथा हवाई सेना फिर्ता गर्नुपर्ने विषय छन्। त्यस्तै, हालैको द्वन्द्वमा भएको क्षतिको क्षतिपूर्ति, इरानमाथिका अमेरिकी प्रतिबन्ध हटाउने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग पनि तेहरानले अघि सारेको छ।
अमेरिका दबाब कायमै राख्ने पक्षमा
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि अमेरिकाले सैन्य तथा आणविक क्षेत्रमा ठूलो क्षति पुर्याएको दाबी गरेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानको आणविक कार्यक्रम र परम्परागत सैन्य क्षमतालाई ध्वस्त पारिएको दाबी गर्दै तेहरानले दीर्घकालीन परिवर्तन नगरे अमेरिकाले दबाब कायमै राख्ने बताएका छन्।
अमेरिकाले मध्यपूर्वबाट तेल तथा ग्यासको प्रवाह सुनिश्चित गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको बताउँदै आएको छ। हर्मुज जलसन्धिको अवरोधले विश्वव्यापी ऊर्जा बजारमा थप दबाब सिर्जना गर्न सक्ने भएकाले यसको सञ्चालनलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ।
साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता
इरान-अमेरिका तनावकै बीच साउदी अरब, टर्की र पाकिस्तानले मक्कामा ‘संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका छन्। टर्कीका विदेशमन्त्री हकान फिदानका अनुसार सम्झौता रक्षात्मक प्रकृतिको रहेको र कुनै निश्चित देशलाई लक्षित गरेर नगरिएको हो।
भविष्यमा इजिप्टसमेत उक्त सुरक्षा व्यवस्थामा सहभागी हुन सक्ने सम्भावना रहेको बताइएको छ। मध्यपूर्वमा सैन्य तनाव बढिरहेका बेला तीन महत्वपूर्ण क्षेत्रीय शक्तिबीच भएको यो सम्झौतालाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
हर्मुज बन्द, तर तेल ओसारपसार जारी
हर्मुज जलसन्धि अवरुद्ध रहे पनि केही तेल ट्याङ्करले वैकल्पिक तथा गोप्य मार्ग प्रयोग गर्दै तेल ओसारपसार गरिरहेको बताइएको छ। ‘ट्याङ्कर ट्र्याकर्स’का अनुसार कम्तीमा ५६ वटा ट्याङ्कर ‘डिजिटल अन्धकार’मा रहेर खाडी क्षेत्रमा तेल स्थानान्तरण गरिरहेका छन्।
यसले हर्मुजबाट हुने नियमित तेल आवागमन प्रभावित भए पनि खाडी क्षेत्रबाट विश्व बजारतर्फ ऊर्जा आपूर्ति पूर्ण रूपमा रोकिएको छैन भन्ने संकेत गर्छ।
पेन्टागनको रणनीतिमा परिवर्तन
युद्ध लम्बिँदै जाँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्नो सैन्य रणनीतिमा समेत परिवर्तन गर्न थालेको छ। पेन्टागनले कम लागतका स्वायत्त हतियारको प्रयोगमा जोड दिन थालेको बताइएको छ। अमेरिकी अधिकारीहरूले सञ्चारमाध्यममा आएका हतियार अभावसम्बन्धी रिपोर्ट अस्वीकार गर्दै अमेरिकी सुरक्षा भण्डार पर्याप्त रहेको दाबी गरेका छन्।
हर्मुज जलसन्धिको भविष्य, इरानले अघि सारेका सर्त र अमेरिकाको आगामी रणनीतिले अब मध्यपूर्वको सुरक्षा मात्र नभई विश्वव्यापी ऊर्जा बजार र तेलको मूल्यमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ।