काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना अष्ट्रेलियामा हुने एकदिवसीय अभ्यास खेलमा न्युजिल्यान्ड ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। न्युजिल्यान्ड क्रिकेट (एनजेडसी) ले सार्वजनिक गरेको तालिकाअनुसार दुवै टोलीबीचको ५० ओभरको खेल सेप्टेम्बर ६ मा अष्ट्रेलियाको नर्दर्न टेरिटोरीस्थित मारारा क्रिकेट ग्राउन्ड-२ मा हुनेछ।
न्युजिल्यान्ड ‘ए’ टोलीले नर्दर्न टेरिटोरी भ्रमणका क्रममा नेपालसँग खेल्नुअघि सेप्टेम्बर २ मा दक्षिण अष्ट्रेलिया र सेप्टेम्बर ४ मा तास्मानियासँग पनि एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। यसअघि न्युजिल्यान्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म डार्विनमा आयोजना हुने एनटी टप एन्ड टी-२० शृंखलामा पहिलोपटक सहभागिता जनाउँदै विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
नौ टोली सहभागी रहने प्रतियोगितामा न्युजिल्यान्ड ‘ए’ले एडिलेड स्ट्राइकर्स, एसीटी कोमेट्स, हैदराबाद ह्युस्टन किङ्समेन, भिक्टोरिया, बंगलादेश हाई-परफर्मेन्स टोली र होबार्ट हरिकेन्ससँग खेल्ने तालिका रहेको छ। न्युजिल्यान्ड ‘ए’ टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका १३ अन्तर्राष्ट्रिय खेलाडी समावेश छन्। टोलीमा क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडन लेनोक्स र बेन लिस्टरजस्ता अनुभवी खेलाडी रहेका छन्। हालै वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द सिरिज’ बनेका बायाँहाते स्पिनर जेडन लेनोक्स पनि टोलीमा समावेश छन्।
टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी ड्यानियल फ्लिनले सम्हाल्नेछन् भने न्युजिल्यान्ड ‘ए’ अगस्ट १६ मा अष्ट्रेलिया प्रस्थान गर्नेछ। यता नेपालका लागि न्युजिल्यान्ड ‘ए’सँगको अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ।
एनटी टप एन्ड टी-२० शृंखलाअन्तर्गत नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। नेपालले पहिलो खेल अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्नेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई-परफर्मेन्स टोली, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।