काठमाडौं । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको नोन्थाबुरी प्रान्तको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार भएको भीषण गोलीकाण्डमा तीन शिक्षक र तीन विद्यार्थीको मृत्यु भएको छ। घटनामा अन्य १५ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको थाई प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डेबसिरिन नोन्थाबुरी विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले विद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाएका थिए। प्रारम्भिक अनुसन्धानले विद्यालय पुग्नुअघि ती विद्यार्थीले आफ्नै घरमा हजुरबा र हजुरआमाको समेत हत्या गरेको देखाएको छ। दुवैको शव घरबाट बरामद गरिएको प्रहरीले पुष्टि गरेको छ।
घटनामा प्रयोग गरिएको ९ एमएम पेस्तोल विद्यार्थीका हजुरबुवाको नाममा दर्ता भएको लाइसेन्स प्राप्त हतियार रहेको खुलेको छ। हजुरबुवा स्वयं शिक्षक रहेको जनाइएको छ। गोलीकाण्डपछि आरोपी विद्यार्थी पनि गम्भीर घाइते भएका छन् र उनको अस्पतालमा उपचार भइरहेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार गोली चल्न थालेपछि विद्यालयमा भागदौड र अफरातफरी मच्चिएको थियो। धेरै विद्यार्थीहरू ज्यान जोगाउन कक्षाकोठाभित्र लुकेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेर विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो।
थाइल्यान्डका प्रधानमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी उपचार गर्न तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रहरीले घटनाको वास्तविक कारण र आक्रमणको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।
थाइल्यान्डमा यसअघि पनि विद्यालय र सार्वजनिक स्थानमा यस्ता गोलीकाण्डका घटना हुँदै आएका छन्। ती घटनापछि सरकारले बन्दुकसम्बन्धी कानुन कडा बनाउने, हतियारको लाइसेन्स प्रक्रियामा निगरानी बढाउने र मानसिक स्वास्थ्यसम्बन्धी जोखिम मूल्यांकनलाई प्राथमिकता दिने प्रयास गरेको भए पनि हिंसात्मक घटना दोहोरिइरहेका छन्।
थाइल्यान्डमा सर्वसाधारणले सरकारी अनुमति लिएर मात्र बन्दुक राख्न पाउने व्यवस्था छ। बन्दुक खरिद, दर्ता र सार्वजनिक रूपमा बोकेर हिँड्न छुट्टाछुट्टै अनुमति आवश्यक पर्छ। यस घटनामा पनि परिवारकै लाइसेन्स प्राप्त हतियार प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएपछि घरमा राखिएका हतियार बालबालिका र किशोरकिशोरीको पहुँचबाट कत्तिको सुरक्षित छन् भन्ने विषय फेरि बहसको केन्द्रमा आएको छ।