काठमाडौं । यही शुक्रबार (साउन २२)देखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को प्रदर्शन अधिकार बेलायतका लागि पनि बिक्री भएको छ। यसअघि साइप्रसमा प्रदर्शन सुनिश्चित गरिसकेको फिल्म अब बेलायतमा पनि दर्शकमाझ पुग्ने भएको हो।
फिल्मको बेलायत प्रदर्शन अधिकार सपन इन्टरटेनमेन्ट लिमिटेडले खरिद गरेको निर्माण टिमले जनाएको छ। आगामी असोज ४ गते (सेप्टेम्बर २०) बेलायतको अल्डरशटस्थित प्रिन्सेस हल मा फिल्मको विशेष प्रदर्शन गरिने तयारी गरिएको छ। फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा नेपालमा यसको प्रचार अभियानलाई पनि तीव्र बनाइएको छ। निर्माण पक्षले काठमाडौंका विभिन्न कलेजहरूमा प्रचारात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै झापा, मोरङ, सुनसरी, दाङ, नेपालगञ्ज र धनगढीलगायतका क्षेत्रमा सञ्चालन हुने तीनपाङ्ग्रे अटो र ई-रिक्सामा फिल्मका पोस्टर टाँसेर प्रचार गरिरहेको जनाएको छ। यस अभियानले दर्शकमाझ फिल्मको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास निर्माण टिमको छ।
छाउपडी प्रथा र किसानको संघर्षलाई मुख्य विषयवस्तु बनाइएको फिल्म ‘हली’ मा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको लेखन तथा निर्देशन ओम प्रतीक ले गरेका हुन्। उनले फिल्ममा मुख्य भूमिका पनि निर्वाह गरेका छन्।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्स को सहकार्यमा निर्माण भएको फिल्मका निर्माता पूजा गुरुङ (गर्वी) र जस्मिन श्रेष्ठ (ज्वानभिष) हुन्। अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह(निर्माताका रूपमा रहेका छन्।फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ।