एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियार तथा गोला-बारुदको अभाव रहेको भन्ने समाचारप्रति कडा असन्तुष्टि जनाउँदै त्यस्ता सूचना चुहाउने व्यक्तिहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले सूचना चुहाउनेहरूको पहिचान भइसकेको दाबी गर्दै उनीहरूले लामो जेल सजाय भोग्नुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिकासँग विशेष प्रकारका हतियारसहित पर्याप्त मात्रामा गोला-बारुद मौज्दात रहेको दाबी गरे। उनले ठूलो परिमाणमा नयाँ गोला-बारुद उत्पादन भइरहेको र आवश्यक परे तत्काल उपलब्ध गराउन सकिने उल्लेख गरे। साथै, अमेरिकी रक्षा उद्योगहरूले इतिहासकै सबैभन्दा ठूलो स्तरमा नयाँ कारखाना र उत्पादन केन्द्रहरू निर्माण गरिरहेको दाबी पनि गरे।
यसअघि अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टले क्याम्प डेभिडमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले रक्षा मन्त्री पिट हेगसेथसँग हतियार अभावबारे स्पष्टीकरण मागेको समाचार प्रकाशित गरेको थियो। रिपोर्टअनुसार ट्रम्पले उक्त समस्या पहिले नै समाधान भइसकेको ठानेको बताएका थिए।
यस्तै, सीएनएन ले लामो दूरीका निर्देशित मिसाइल तथा हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलको अभावले इरानसम्बन्धी ट्रम्प प्रशासनको रणनीतिमा प्रभाव परेको दाबी गरेको थियो। रिपोर्टमा अमेरिकी सेनाले आफ्नो थाड (THAAD) हवाई प्रतिरक्षा प्रणालीका करिब ८० प्रतिशत मिसाइल प्रयोग गरिसकेको उल्लेख गरिएको थियो।
वासिङ्टन पोस्टले हतियार अभावकै कारण ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही तत्कालका लागि स्थगित गरेको दाबी पनि गरेको थियो। तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प र रक्षा मन्त्री हेगसेथबीच मतभेद रहेको तथा हतियार अभावसम्बन्धी समाचारलाई “फेक न्युज” भन्दै अस्वीकार गरेकी छन्।
पेन्टागनका वरिष्ठ प्रवक्ता सिन पार्नेलले पनि ट्रम्प-हेगसेथबीच विवाद भएको तथा अमेरिकामा हतियार अभाव रहेको भन्ने सबै रिपोर्टहरू भ्रामक र तथ्यहीन भएको बताएका छन्।