काठमाडौं । बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित खलनायक प्रदीप रावतको मंगलबार उपचारका क्रममा निधन भएको छ। पाँच वर्षदेखि ब्लड क्यान्सरसँग जुधिरहेका रावतले मुम्बईस्थित कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेका हुन्। उनको निधनसँगै भारतीय फिल्म उद्योग शोकमा डुबेको छ भने कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालमलगायत विभिन्न भाषाका २०० भन्दा बढी फिल्ममा अभिनय गरेका रावत नेपाली फिल्म ‘ह्रस्व दीर्घ’, ‘आ बाट आमा’ तथा यसको दोस्रो श्रृंखलामा पनि देखिएका थिए। यद्यपि, उनी दक्षिण भारतीय फिल्म उद्योगमा शक्तिशाली खलनायकका रूपमा बढी परिचित थिए।
रावतले एस.एस. राजामौली निर्देशित ‘स्ये’बाट दक्षिण भारतीय फिल्ममा यात्रा सुरु गरेका थिए। त्यसपछि उनले तमिल ब्लकबस्टर ‘गजनी’मा अभिनय गरे र पछि यसको हिन्दी रिमेकमा पनि उही भूमिकालाई निरन्तरता दिए।
प्रदीप रावतकै कारण आमिरले पाए ‘गजनी’
सन् २००८ मा रिलिज भएको ‘गजनी’ आमिर खानको करिअरकै सबैभन्दा सफल फिल्ममध्ये एक मानिन्छ। तर, यो फिल्मका लागि आमिर पहिलो रोजाइ भने थिएनन्। निर्देशक एआर मुरुगदासले सुरुमा फिल्ममा सलमान खानलाई लिन चाहेका थिए। तर, प्रदीप रावतले आमिर खानको नाम सिफारिस गरेपछि फिल्मको दिशा नै बदलिएको थियो।
एक अन्तर्वार्तामा रावतले खुलासा गर्दै भनेका थिए कि मुरुगादास हिन्दी वा अंग्रेजीमा सहज नभएकाले सलमान खानसँग काम गर्दा अनावश्यक समस्या आउन सक्ने आफूलाई लागेको थियो। त्यसैले उनले आमिर खानलाई लिन सुझाव दिएका थिए। रावतको यही सुझावपछि आमिर खान ‘गजनी’मा अनुबन्धित भएका थिए।
पछि रिलिज भएको ‘गजनी’ बक्स अफिसमा ऐतिहासिक रूपमा सफल बन्यो। यो फिल्म बलिउडमा १०० करोड रुपैयाँभन्दा बढी कमाउने पहिलो फिल्म बनेको थियो र आमिर खानको करिअरमा नयाँ उचाइ थप्ने काम गरेको थियो।
दक्षिण भारतीय फिल्म रोज्नुको कारण
केही वर्षअघि दिएको एक अन्तर्वार्तामा रावतले आफूले बलिउडभन्दा दक्षिण भारतीय फिल्म उद्योगलाई प्राथमिकता दिनुको कारण पनि खुलाएका थिए। उनका अनुसार दक्षिण भारतीय फिल्ममा कलाकारले बलिउडको तुलनामा झन्डै तीन गुणासम्म बढी पारिश्रमिक पाउने र भुक्तानीका लागि पटक-पटक ताकेता गर्न नपर्ने भएकाले त्यहाँ काम गर्न सहज भएको थियो।
भारतीय फिल्म उद्योगमा शक्तिशाली खलनायकको पहिचान बनाएका प्रदीप रावतको निधनसँगै एक अनुभवी कलाकारको युग समाप्त भएको छ।