काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफूबाट प्रक्रियागत गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्। तर, बढ्दो आलोचना र राजीनामाको मागका बीच उनले अध्यक्ष पद नछोड्ने स्पष्ट पारेका छन्।
मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बसेको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो गल्ती स्वीकार गरेका हुन्। बैठक सम्पन्न भएको केही घण्टापछि फिफाले जारी गरेको विज्ञप्तिमा व्यवस्थापन बोर्ड र उच्च नेतृत्वले इन्फान्टिनोप्रति पूर्ण समर्थन दोहोर्याएको उल्लेख गरिएको छ। विवादको केन्द्रमा रहेको ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ प्रस्तावमार्फत पुरुष तथा महिला विश्वकपलगायत प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना ल्याइएको थियो। तर, यो प्रक्रिया पारदर्शी नभएको र फिफा काउन्सिल तथा सदस्य संघलाई पर्याप्त जानकारी नदिइएको आरोप लागेपछि विवाद चर्किएको हो।
युरोपेली फुटबल महासंघ ९युइएफए० ले यस घटनापछि इन्फान्टिनोमाथिको विश्वास गुमाएको घोषणा गरिसकेको छ। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले पनि घटनाक्रमलाई 'दुःखद र निन्दनीय' भन्दै आलोचना गरेका थिए। यद्यपि, आकस्मिक बैठकपछि महासचिव ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले इन्फान्टिनोको नेतृत्वप्रति पुनः पूर्ण समर्थन व्यक्त गरेका छन्। इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य राष्ट्रलाई पत्र पठाउँदै प्रक्रियागत त्रुटिप्रति क्षमायाचना गरेका छन्। साथै, भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन्।
इन्फान्टिनोले निजी लगानी प्रस्तावलाई समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने योजना प्रस्तुत गरेका थिए। तर, प्रस्ताव सार्वजनिक भएसँगै निर्णय प्रक्रिया गोप्य रूपमा अघि बढाइएको भन्दै व्यापक विरोध भएको थियो।
विवादबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोप्रति आफ्नो विश्वास नरहेको बताएका छन् भने पोर्चुगलका पूर्वस्टार फुटबलर लुइस फिगोले तत्काल राजीनामा दिन माग गरेका छन्। यद्यपि, ५६ वर्षीय इन्फान्टिनो सन् २०२७ मार्चमा मोरक्कोमा हुने फिफा अध्यक्षीय निर्वाचनमा चौथो कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा छन्।